पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह विवादमा परेका छन्।
पञ्जाबकी मुख्यमन्त्री मारियम नवाजको आलोचना गर्दै गरिएको एउटा ट्वीटका कारण पाकिस्तान क्रिकेट बोर्डले उनलाई 'केन्द्रीय उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।
यो घटना पाकिस्तान सुपर लिगको उद्घाटन खेलसँग जोडिएको छ। पश्चिम एसियाको संकट र इन्धन अभावका कारण पीसीबीका अध्यक्ष मोहसिन नाक्भीले यसपटकको पीएसएल रंगशालामा दर्शकबिना नै खेलाउने निर्णय गरेका थिए।
तर, उद्घाटन खेलमा दर्शकलाई रोक लगाइए पनि ठूला पदका व्यक्तित्वहरू भने उपस्थित थिए। पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी तथा वर्तमान मुख्यमन्त्री मारियम नवाज ठूलो सुरक्षा घेरा र विलासी गाडीहरूको ताँतीसहित गद्दाफी स्टेडियम पुगिन्। उनले त्यहाँ खेलाडीहरूसँग भेटघाट पनि गरिन्।
मारियम नवाजको सोही राजकीय ठाँटलाई लिएर नसिम शाहको 'एक्स' (ट्वीटर) अकाउन्टबाट एउटा प्रश्न उठाइयो— ‘उनलाई किन लर्ड्सको महारानी जस्तो व्यवहार गरिएको?’
केही मिनेटमै उक्त ट्वीट हटाइयो र नसिमले आफ्नो अकाउन्ट ह्याक भएको र पछि फिर्ता पाएको दाबी गरे। तर, पीसीबीले यो कुरालाई सहजै स्विकारेन। बोर्डले नसिमले मिडिया नीति र आचारसंहिताको गम्भीर उल्लंघन गरेको बताएको छ। बोर्डको नियमअनुसार कुनै पनि खेलाडीले बोर्डको नीति वा कुनै सरकारी अधिकारीको सार्वजनिक आलोचना गर्न पाउँदैनन्।
पछिल्लो समय पीसीबीले राजनीतिक विषयमा बोल्ने खेलाडीहरूमाथि कडा कारबाही गर्दै आएको छ। यसअघि अलराउन्डर आमिर जमाललाई पूर्व प्रधानमन्त्री इमरान खानको समर्थनमा '८०४' (इमरानको कैदी नम्बर) लेखिएको टोपी लगाएको भन्दै १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी जरिवाना गरिएको थियो।
नसिम शाहले शनिबार रावलपिन्डी पिन्डिजका लागि आफ्नो पहिलो खेल खेल्ने तालिका छ। तर, पीसीबीले उनको जवाफपछि थप सजाय दिने वा नदिनेबारे निर्णय गर्नेछ।