प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ।
माथिल्लो मुलपानी मैदानमा आर्मीले कुशल मल्लको ९० रनको मद्दतमा बागमतीलाई ३ विकेटले पराजित गरेको हो। जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले ४ खेलबाट ७ अंक जोडेको छ।
वर्षाले प्रभावित खेलमा २८ ओभर झारिएको थियो। जसमा आर्मीले २०९ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य आर्मीले एक बल खेल्न बाँकी छदा ७ विकेट गुमाएर पूरा गर्यो।
कुनै समय अप्ठेरो परिस्थितिमा रहेको आर्मीका लागि कुशलले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै नटआउट ९० रन बनाए। उनले अन्तिम ओभरको पाँचौ बलमा विजयी छक्का प्रहार गरेका थिए।
त्यसअघि तृतराज दासले ४८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५४ रन जोडेर जितको आधार तय गरेका थिए। आर्मीका अरु ब्याटर चल्न सकेनन्।
बलिङमा बागमतीका इशान पाण्डे र विवेक मगरले २-२ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा २०८ रन बनायो। उसका लागि विकेट मगरले २४ बलमा ३० रन, प्रतिश जिसीले १५ बलमा २८ रन, सोनु देवकोटाले १९ बलमा नटआउट ३० रन र कप्तान सन्दीप लामिछानेले १२ बलमा नटआउट २१ रन बनाएका थिए।
अर्को खेलमा भने सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबमाथि गण्डकी प्रदेशले जित निकालेको छ।
गण्डकीले एपिएफलाई ४३ रनले हरायो। वर्षाका कारण २१ ओभरमा झारिएको खेलमा गण्डकीले ७ विकेटको क्षतिमा १५० रन बनायो। जुन लक्ष्य पछ्याएको एपिएफ १८.३ ओभरमा १०७ रनमै अलआउट भयो।
गण्डकीले पहिलो जित हात पारेको हो भने एपिएफ पनि चार खेलमा एक जितमा सीमित छ।