पाकिस्तान सुपर लिग टोली लाहोर कलन्दर्सका ब्याटर फखर जमानलाई बलको अवस्था बिगारेको (बल टेम्परिङ) आरोपमा एक वा दुई खेलको प्रतिबन्ध लाग्न सक्ने भएको छ।
आइतबार कराँची किंग्स विरुद्धको खेलमा भएको यस घटनापछि म्याच रेफ्री रोशन महानामाले यसबारे सुनुवाइ गर्नेछन्।
जमानलाई 'लेभल-३' को अपराध अन्तर्गत दोषी ठहर्याइएको छ। यसमा पहिलो पटक गल्ती गर्दा कम्तीमा एक र बढीमा दुई खेलको प्रतिबन्ध लाग्ने नियम छ। फखरले यो आरोपको सामना गर्ने बताएका छन्।
कराँची किंग्सले लक्ष्य पछ्याइरहेका बेला अन्तिम ओभरको सुरुमा यो घटना भयो। शाहिन शाह अफ्रिदी र फखर जमानको हात हुँदै आएको बललाई अम्पायर फैसल अफ्रिदीले शंका लागेर चेक गरेका थिए। दुवै अन-फिल्ड अम्पायरको सल्लाहपछि बलको अवस्था बिगारिएको निष्कर्ष निकाल्दै नयाँ बल फेरिएको थियो।
नियमअनुसार बल टेम्परिङ गरेको पाइएपछि ब्याटिङ गरिरहेको कराँची किंग्सलाई ५ रन 'पेनाल्टी' स्वरूप दिइयो। साथै, कराँचीका ब्याटरहरूलाई उपलव्ध बलहरू मध्येबाट एउटा बल छान्ने सुविधा पनि दिइयो।
यो ५ रनको पेनाल्टी खेलको निर्णायक मोड बन्यो। अन्तिम ६ बलमा कराँचीलाई जितका लागि १४ रन चाहिएको थियो, तर ५ रन सित्तैमा पाएपछि ६ बलमा ९ रन मात्र चाहिएको अवस्था बन्यो। कराँचीले २ बल बाँकी छँदै खेल जित्यो।
यसै खेलमा कराँची किंग्सका बलर हसन अलीलाई पनि जरिवाना गरिएको छ। विकेट लिएपछि ब्याटरप्रति आक्रामक व्यवहार देखाएको भन्दै उनलाई म्याच फिको १० प्रतिशत जरिवाना गरिएको छ।