लुम्बिनी प्रदेशका कप्तान देव खनाल एक खेलका लागि निलम्बनमा परेका छन्। प्रधानमन्त्री कपअन्तर्गत देवले सोमबार भइहरेको सुदूरपश्चिमविरूद्धको खेल गुमाएका हुन्।
उनको अनुपस्थितिमा लुम्बिनीको कप्तानी आकाश त्रिपाठीले गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार देवको २४ महिनाभित्रमा ५ डिमेरिट अंक भएपछि उनी एक खेलका लागि निलम्बनमा परेका हुन्।
क्रिकेट खेलमा अनुशासन तोडेपछि डिमेरिट अंक दिने गरिन्छ। डिमेरिट अंक चार वा सोभन्दा बढी भएमा खेलको प्रतिबन्ध लाग्ने नियम छ।
यहीँ नियमअनुसार देवले सोमबारको खेल गुमाएका हुन्।
देवले गत शुक्रबार मधेशविरूद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै विवाद तथा असन्तुष्टि जनाएका थिए। सो खेलका लागि उनले २ डिमेरिट अंक पाएको क्रिकेट म्यानेजर दासले बताए।
मधेसविरूद्धको खेलमा देवले आफूलाई गतल तरिकाले आउट दिएको भन्दै अम्पायरसँग असन्तुष्टि जनाएर विवाद गरेका थिए।
खेलमा रुपेश सिंहको बलमा देवले प्रहार गर्न खोज्दा विकेटकिपरले समातेका थिए। जसमा अम्पायरले उनलाई आउट दिएका थिए।
तर उनले बलमा आफ्नो ब्याटले नछोएको संकेत गर्दै आउट दिएको भन्दै विवाद गरेका थिए भने केही बेर मैदानमै बसेका थिए।