प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ।
सुदुरपश्चिमले सोमबार वीरगञ्जमा भएको खेलमा लुम्बिनी प्रदेशमाथि १२ रनको जित निकालेको हो। लुम्बिनीले भने एक खेलमा मात्र जित निकाल्न सकेको छ।
सुदुरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमा अलआउट हुन पुगेको थियो।
लुम्बिनीका लागि सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्।
बलिङमा सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले ३-३ विकेट लिए भने हेमन्त धामीको नाममा २ विकेट रह्यो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.४ ओभरमा १६८ रनमा अलआउट भयो। उसका लागि दीपक बोहराले सर्वाधिक ३० रन बनाउँदा बलिङमा लुम्बिनीका सन्तोष यादव र अजय चौहानले ४-४ विकेट लिए।
जनकपुरमा घरेलु टोली मधेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। चार खेलबाट ७ अंक जोडेको मधेशले समान अंक भएको आर्मीलाई रनरेटमा पछि पारेको हो।
कर्णालीले दिएको १३० रनको लक्ष्य मधेशले ५ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्यो। उसका लागि अरनिको यादवले अटआउट ३२ रन र निरज यादवले ३८ रन बनाए।
यता पहिले ब्याटिङ गरेको कर्णाली ३१.२ ओभरमा १२९ रनमा अलआउट भयो। कर्णालीका लागि रवीन्द्र शाहीले ४० रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा मधेशका आशिक बैठाले ४ विकेट लिए भने विशाल पटेल र अरनिको यादवले २-२ विकेट लिन सफल भए।