आफ्नो १५ औं जन्मदिन मनाएको तीन दिनमै वैभव सूर्यवंशीले आइपिएल २०२६ मा सानदार पुनरागमन गरेका छन्।
चेन्नई सुपर किंग्स विरुद्धको खेलमा उनले मात्र १५ बलमा अर्धशतक प्रहार गरेर सबैलाई चकित पारे। जुन पिचमा चेन्नईको टोली जम्मा १२७ रनमा समेटिएको थियो, त्यहीँ वैभवले विष्फोटक ब्याटिङ गरे।
गुवाहाटीमा भएको यस खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ८ विकेटले पराजित गर्यो। राजस्थानले जितको लागि पाएको लक्ष्य मात्र १२.१ ओभरमा पूरा गर्यो।
खेलपछि वैभवले आफ्नो योजनाबारे बताउँदै भने, ‘हाम्रो योजना पावरप्लेको अधिकतम फाइदा उठाउने थियो। सुरुमा पिच अलि गाह्रो (अड्किने खालको) थियो, तर बल पुरानो हुँदै गएपछि ब्याटमा राम्रोसँग आउन थाल्यो।’
उनले अगाडि थपे, ‘म रक्षात्मक खेलबारे पनि सोच्छु, तर सानो लक्ष्य पछ्याउँदा पावरप्लेमै खेलको निर्णय हुन्छ। यदि विपक्षी टोलीले पावरप्लेमा राम्रो बलिङ गरेको भए खेल उनीहरूको पक्षमा जान सक्थ्यो। त्यसैले हामीले सुरुदेखि नै आक्रामक हुने रणनीति बनायौँ।’
आफ्नो पहिलो बलमै वैभवलाई क्याच ड्रप भएर जीवनदान मिलेको थियो। त्यसपछि उनले पछाडि फर्केर हेरेनन्। पावरप्ले सकिँदासम्म उनले १६ बलमा ५ छक्का र ४ चौकाको मद्दतले ५२ रन बनाइसकेका थिए। राजस्थानको व्यवस्थापनले उनलाई आफ्नो स्वभाविक खेल खेल्न पूर्ण स्वतन्त्रता र साथ दिएको उनले बताए।
वैभवले सन् २०२५ मा मात्र १४ वर्षको उमेरमा आइपिएलमा डेब्यु गरेका थिए। गत सिजन उनले ३५ बलमा आइपिएल इतिहासकै दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका थिए। उनले गत वर्ष सात खेलमा २०६.५५ को स्ट्राइक रेटमा २५२ रन बनाएका थिए।
खेलको संक्षिप्त विवरण:
• चेन्नई : १२७ रन (१९.४ अलआउट)
• राजस्थान : १२८/२ (१२.१ ओभरमा)
• नतिजा: राजस्थान रोयल्स ८ विकेटले विजयी (४७ बल बाँकी छँदै)