पाकिस्तानी क्रिकेटर फखर जमानलाई 'बल टेम्परिङ' (बलको अवस्था जानीजानी बिगारेको) गरेको आरोपमा दुई खेलको प्रतिबन्ध लगाइएको छ।
यो सजायसँगै उनले लाहोर कलन्दर्सको तर्फबाट अप्रिल ३ मा मुल्तान सुल्तान्स र अप्रिल ९ मा इस्लामावाद युनाइटेड विरुद्ध हुने खेलहरू खेल्न पाउने छैनन्।
गत आइतबार राति कराँची किंग्स विरुद्धको खेलका क्रममा फखर जमानले बलको अवस्था परिवर्तन गरेर नियम मिचेको पाइएको थियो। खेलको अन्तिम ओभर सुरु हुनुअघि मैदानमा रहेका अम्पायरले बलको निरीक्षण गर्दा त्यसको अवस्था अस्वाभाविक रूपमा बिगारिएको भेट्टाए। त्यसपछि अम्पायरहरूले तुरुन्तै उक्त बल परिवर्तन गरेर अर्को नयाँ बल ल्याएका थिए।
म्याच रेफ्री रोशन महानामाले यस विषयमा सुनुवाइ गर्दै फखर जमानले पिएसएलको आचारसंहिता उल्लंघन गरेको निष्कर्ष निकाले। फखरले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि प्रमाणहरूको आधारमा उनलाई दोषी ठहर गरियो।
नियम अनुसार यस्तो गल्ती गर्ने खेलाडीलाई कम्तीमा एक र बढीमा दुई खेलको प्रतिबन्ध लाग्ने व्यवस्था छ। फखरलाई अधिकतम सजाय अर्थात् दुई खेलको प्रतिबन्ध तोकिएको हो।
लाहोर कलन्दर्सका कप्तान शाहिन अफ्रिदी र टोलीका अन्य पदाधिकारीहरूको उपस्थितिमा भएको उक्त सुनुवाइपछि फखरलाई ४८ घण्टाको समय दिइएको छ। यदि उनलाई यो निर्णय चित्त नबुझेमा उनले प्राविधिक समिति समक्ष पुनरावेदन गर्न सक्नेछन्।
अहिलेको निर्णय अनुसार भने उनले अबका दुई महत्त्वपूर्ण खेलहरू गुमाउने पक्का भएको छ।