पञ्जाब किङ्ग्सका युवा खेलाडी कूपर कोनोलीले आफ्नो पहिलो आईपीएल खेलमै सबैलाई मन्त्रमुग्ध पारेका छन्।
गुजरात टाइटन्स विरुद्धको खेलमा अस्ट्रेलियाका कोनोलीले देखाएको हिम्मत र समझदारीपूर्ण ब्याटिङले पञ्जाबलाई रोमाञ्चक जित दिलाएको छ।
खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। जुन लक्ष्य पञ्जाबले पाँच बल खेल्न बाँकी छदा ७ विकेट गुमाउँदै पूरा गर्यो भने ३ विकेटको जित निकाल्यो।
गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कोनोलीले मात्र ४४ बलमा ७२ रनको अविजित पारी खेले। पञ्जाबका कप्तान श्रेयस अय्यरले उनको प्रदर्शनलाई ‘अभूतपूर्व’ र ‘अविश्वसनीय’ भन्दै तारिफ गरेका छन्।
सुरुमा रन बनाउन केही कठिन देखिए पनि हल्का वर्षाले पिचलाई छिटो बनाएपछि कोनोलीले आक्रामक रूप लिए। उनले विश्वका चर्चित बलरहरू मोहम्मद सिराज र कागिसो रबाडालाई निकै आत्मविश्वासका साथ प्रहार गरे।
कोनोलीको वास्तविक परीक्षा विश्वका नम्बर १ स्पिनर राशिद खान विरुद्ध थियो। तर, कोनोलीले राशिदलाई पनि बाँकी राखेनन्। उनले राशिदको बलमा १०३ मिटर लामो विशाल छक्का प्रहार गरे। राशिद विरुद्ध उनले १२ बलमा २२ रन बटुले, जुन कुनै पनि नयाँ खेलाडीका लागि ठूलो कुरा हो।
खेलको एक मोडमा पञ्जाब निकै बलियो अवस्थामा थियो (११० रनमा २ विकेट)। तर प्रसिद्ध कृष्णले लगातार विकेट लिएपछि पञ्जाबको अवस्था १२० रनमा ६ विकेट हुन पुग्यो। यस्तो तनावपूर्ण अवस्थामा पनि कोनोली आत्तिएनन्। उनले संयम कायम राख्दै चौका र छक्का प्रहार गरेर टोलीलाई जितको ढोकासम्म पुर्याए।
आईपीएलमा आउनुअघि कोनोलीको प्रदर्शन खासै राम्रो थिएन। अस्ट्रेलियाका लागि खेलेका खेलहरूमा र बिग बास लिगमा उनी सस्तोमा आउट भइरहेका थिए। तर उनले केही समय परिवारसँग बिताएर आफूलाई ‘रिसेट’ गरे। मुख्य प्रशिक्षक रिकी पोन्टिङसँगको सल्लाहले आफ्नो ब्याटिङमा केही सुधार गरेको उनले बताए।
ढाडको समस्याका कारण कोनोलीले अप्रिल महिनाभर बलिङ गर्न पाउने छैनन्। त्यसैले उनले ब्याटिङबाटै आफ्नो टोलीका लागि योगदान दिनुपर्ने चुनौती थियो, जसमा उनी पूर्ण रूपमा सफल भए।
उनका साथी खेलाडी युजवेन्द्र चहलले कोनोली यो सिजनकै ‘उत्कृष्ट खोज’ हुन सक्ने बताएका छन्। अक्सनमा छानिएपछि कोनोलीले पञ्जाबका लागि एउटा बिर्सिनसक्नु विरासत छाड्ने बाचा गरेका थिए, जसको सुरुवात उनले पहिलो खेलबाटै गरिसकेका छन्।