आइपिएल २०२६ को एक रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। कम स्कोरको यो खेलमा दिल्लीका लागि 'इम्प्याक्ट प्लेयर' समीर रिजवी नायक बने।
लखनउ १४१ रन मा (१८.४ ओभरमा) अलआउट भएको थियो। दिल्लीले १४५/४ (१७.१ ओभरमा) ले खेल जित्यो।
लखनउले यो खेलमा आफ्नो ब्याटिङ क्रममा केही परिवर्तन गरेको थियो। कप्तान ऋषभ पन्त र मिचेल मार्स ओपनिङमा आएका थिए, तर यो प्रयोग सफल हुन सकेन। पन्त दुर्भाग्यवश रनआउट भए भने अन्य ब्याटरहरू पनि खासै टिक्न सकेनन्।
दिल्लीका बलर लुङ्गी एन्गिडीले निकोलस पुरनलाई एक उत्कृष्ट 'स्लोअर बल'मा बोल्ड गरे, जसले लखनउको रन गतिलाई ठुलो धक्का दियो। अब्दुल समदले ३६ र मिचेल मार्सले ३५ रन बनाए पनि लखनउ १४१ रनमै समेटियो। दिल्लीका एन्गिडी र नटराजनले ३-३ विकेट लिए।
१४२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात निकै डरलाग्दो थियो। लखनउका तीव्र गतिका बलरहरू मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले घातक बलिङ गर्दै दिल्लीलाई २६ रनमै ४ विकेटको अवस्थामा पुर्याएका थिए।
त्यस कठिन समयमा समीर रिजवी र ट्रिस्टन स्टब्सले ब्याटिङ सम्हाले। सुरुमा केही बलहरू बुझ्न समय लिएका रिजवीले पछि आक्रामक रूप लिए। उनले स्पिनरहरू विरुद्ध खुलेर सट प्रहार गरे। रिजवीले नटआउट ७० रन (४ चौका र २ छक्कासहित) बनाए भने स्टब्सले ३९ रनको धैर्यपूर्ण साथ दिए।
यी दुई बीचको अविजित साझेदारीले दिल्लीलाई १७.१ ओभरमै जित दिलायो। यस जितसँगै दिल्लीले सिजन २०२६ मा विपक्षीको मैदानमा गएर खेल जित्ने पहिलो टोली बनेको छ।