आइपिएल २०२६ अन्तर्गत सनराइजर्स हैदरावादले खेलको परिस्थिति बुझेर आफूलाई सोही अनुसार ढाल्यो र कोलकाता नाइट राइडर्सलाई स्तब्ध बनायो। बिहीबार हैदरावादले घरेलु टोलीमाथि ६५ रनको जित निकालेको हो।
बिहीबारको खेलमा सनराइजर्स हैदरावले बलिङमा परिस्थितिलाई बुझ्यो। बेंगलुरुको ब्याटिङमैत्री पिचबाट कोलकाता आइपुग्दा पनि उनीहरूले आफ्नो रणनीतिमा लचकता देखाए।
यही रणनीतिका कारण कोलकाता नाइट राइडर्समात्र १६ ओभरमा १६१ अल-आउट भयो। जसका कारण २२६ रन बनाएको हैदरावादले ले यस सिजनको पहिलो जित हात पार्यो।
खेलको सुरुवातमा हैदरावादले सबैलाई अचम्ममा पार्दै स्पिनर शिवाङ कुमारलाई मैदान उतारे। तथ्याङ्कमा उनले विकेट नलिएको देखिए पनि उनले किफायती बलिङ गरेर केकेआरका ब्याटरहरूलाई बाँधेर राखे। प्रशिक्षक ड्यानियल भिटोरीले भनेझैँ, कहिलेकाहीँ परिस्थिति अनुसार धेरै रन खर्चिए पनि दबाब सिर्जना गर्नु महत्त्वपूर्ण हुन्छ।
केकेआरको माथिल्लो क्रममा दाहिने हाते ब्याटरहरू धेरै भएकाले हैदरावादले पावरप्लेमै देब्रे हाते स्पिनरहरू प्रयोग गर्ने साहस देखायो। केकेआरका ओपनर फिन एलेनले पहिलो ओभरमै डेभिड पेनलाई २४ रन प्रहार गरेपछि उसले तुरुन्तै रणनीति बदल्यो। दोस्रो ओभरमै हर्ष दुबेलाई बलिङमा ल्याइयो। यो कदम सफल भयो, दुबेले खतरनाक देखिएका एलेनलाई २८ रनमा आउट गरिदिए।
कप्तान इशान किशनले मैदानमा लगातार परिवर्तन गरिरहे। उनले तेस्रो ओभरमै अभिषेक शर्मालाई स्पिन बलिङका लागि ल्याए। यद्यपि अभिषेकले केही रन खाए, तर परिस्थिति अनुसार जोखिम मोल्ने कप्तानको निर्णय तारिफयोग्य थियो। बेंगलुरुको खेलमा लाचार देखिएको हैदरावाद यसपटक धेरै सक्रिय र नयाँ सोचका साथ मैदानमा उत्रिएको थियो।
बलिङमा अर्को महत्वपूर्ण भूमिका 'इम्प्याक्ट प्लेयर' इशान मलिङ्गाले निभाए। उनले तीव्र गतिको बल र सुस्त गतिको 'स्लोअर' बलको गजबको मिश्रण गरे। उनले महत्वपूर्ण समयमा सुनिल नारिन र रमनदीप सिंहलाई आउट गरेर केकेआरको इनिङ्स नै ध्वस्त पारिदिए। त्यस्तै, अनुभवी जयदेव उनादकटले पनि 'स्लोअर' बलको प्रयोग गर्दै अजिङ्क्य रहाणे जस्ता ब्याटरलाई चल्न दिएनन् र अन्त्यमा तीन विकेट लिए।
खेलपछि नितिश कुमार रेड्डीले भने, ‘पिच अलि फरक खालको थियो। केकेआरका बलरहरूले सुरुका ६ ओभरमा धेरै रन दिएका थिए, त्यसैले हामीले सुरुमै स्पिनर प्रयोग गर्ने सोच बनायौँ। कप्तान इशानले निकै राम्रो नेतृत्व गरे। पिचमा बल कहिले ढिलो आउने त कहिले छिटो आउने भइरहेको थियो, जसलाई बुझेर हामीले बलिङ गर्यौँ।’