इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२६ को सिजन अहिले जारी छ।
यो सिजन सुरू हुन केही दिन अगाडि सन् २००८ को पहिलो सिजन खेलेका खेलाडीका परिवार कमाएको पैसाको निकै चर्चा भयो।
राजस्थान रोयल्स टिमलाई अमेरिकी लगानीकर्ता कल सोमानीको नेतृत्वमा रहेको एउटा समूहले १.६३ बिलियन डलर (करिब १५ हजार ३०८ करोड भारू) मा किनेको थियो।
यो ठूलो व्यापारिक सम्झौताको सबैभन्दा रोचक पक्ष भने अस्ट्रेलियन स्पिनर शेन वार्नसँग जोडिएको छ। वार्नको निधन भएको चार वर्ष भइसक्दा पनि यो सम्झौताका कारण उनको सम्पत्ति झण्डै दोब्बरले बढेको थियो।
सन् २००८ मा जब आईपीएलको पहिलो सिजन सुरु भएको थियो, त्यतिबेला शेन वार्न राजस्थान रोयल्समा कप्तान, प्रशिक्षक र मेन्टर (परामर्शदाता) को रूपमा आबद्ध भएका थिए।
त्यसबेला उनले केवल तलब मात्र लिएनन् उनले एउटा निकै चलाखीपूर्ण सम्झौता गरे।
उनले आफ्नो तलब ६ लाख ५७ हजार डलरका साथै हरेक वर्ष खेलेबापत टिमको ०.७५ प्रतिशत शेयर (स्वामित्व) लिने सर्त राखे।
वार्नले राजस्थानमा ४ वर्ष बिताए, जसका कारण टिममा उनको कुल हिस्सेदारी ३ प्रतिशत पुग्यो।
जुन सेयर उनको २०२५ सम्म कायम रह्यो। २०२६ मा टिम अर्कै लगानीकर्तालाई बिक्री गर्दा शेन वार्नको परिवारले ३ प्रतिशत सेयरमार्फत् ४ अर्ब ६० करोड भारू पाएका हुन्।