आइपिएलको इतिहासमा अहिलेसम्म कुनै पनि खेलाडीले लगातार चार पटक 'प्लेयर अफ द म्याच' अवार्ड जित्न सकेका छैनन्। तर लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै यो 'ह्याट्रिक' पुरा गर्ने ७ जना खेलाडी छन्।
भर्खरै समीर रिज्वीले विराट कोहली र जोस बटलरजस्ता दिग्गजहरूको यो विशेष क्लबमा आफ्नो नाम दर्ता गराएका छन्।
यी हुन् लगातार ३ पटक अवार्ड जित्ने खेलाडीहरू:
१. ज्याक कालिस (२०१०):
यो सफलता पाउने कालिस पहिलो खेलाडी हुन्। रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै उनले पञ्जाब, राजस्थान र मुम्बईविरुद्ध ब्याटिङ र बलिङ दुवैमा चम्किएर यो उपलब्धि हासिल गरेका थिए। उनले ती तीन खेलमा अपराजित ८९, ४४ र ६६ रन बनाएका थिए।
२. वीरेन्द्र सहवाग (२०१२):
दिल्ली डेयरडेभिल्स (अहिलेको दिल्ली क्यापिटल्स) का कप्तान सहवागले सन् २०१२ मा यो रेकर्ड बनाएका थिए। उनले पुणे वारियर्सविरुद्ध ८७*, मुम्बईविरुद्ध ७३ र राजस्थानविरुद्ध ६३ रनको आक्रामक इनिङ्स खेल्दै लगातार तीन पटक अवार्ड जितेका थिए।
३. आरोन फिन्च (२०१६):
गुजरात लायन्सका लागि खेल्दै फिन्चले सन् २०१६ मा पञ्जाब, पुणे र मुम्बईविरुद्ध लक्ष्य पछ्याउने क्रममा तीनवटा अर्धशतक प्रहार गरे। मुम्बईविरुद्ध अन्तिम बलमा जित दिलाउन उनले खेलेको ६७ रनको इनिङ्स निकै यादगार थियो।
४. विराट कोहली (२०१६):
सन् २०१६ को सिजन विराट कोहलीका लागि ऐतिहासिक थियो, जहाँ उनले कुल ९७३ रन बनाएका थिए। सोही सिजन उनले कोलकाता र दिल्लीविरुद्ध अर्धशतक तथा पञ्जाबविरुद्ध मात्र ५० बलमा ११३ रन प्रहार गर्दै लगातार तीन खेलमा म्यान अफ द म्याच जितेका थिए।
५. जोस बटलर (२०१८):
ओपनरको रूपमा सन् २०१८ मा बटलरले तहल्का मच्चाएका थिए। उनले पञ्जाबविरुद्ध ८२, चेन्नईविरुद्ध ९५* र मुम्बईविरुद्ध ९४* रन बनाउँदै राजस्थान रोयल्सलाई जित दिलाए र अवार्डको ह्याट्रिक पुरा गरे।
६. रुतुराज गायकवाड (२०२०):
चेन्नई सुपर किंग्सका लागि आफ्नो पहिलो आइपिएल सिजनमै गायकवाडले यो उपलब्धि हात पारे। सिजनको दोस्रो आधामा उनले बैंगलोर, कोलकाता र पञ्जाबविरुद्ध लगातार तीनवटा अर्धशतक प्रहार गर्दै टोलीलाई सान्त्वना जितहरू दिलाएका थिए।
७. समीर रिज्वी (२०२५–२०२६):
समीर रिज्वीले यो रेकर्ड दुईवटा सिजन मिलाएर बनाएका हुन्। उनले सन् २०२५ को अन्तिम खेलमा पञ्जाबविरुद्ध ५८* रन बनाए। त्यसपछि २०२६ को सिजनको सुरुवातमा लखनऊविरुद्ध ७० र मुम्बईविरुद्ध ९० रनको विष्फोटक इनिङ्स खेल्दै यो विशेष सूचीमा आफ्नो स्थान सुरक्षित गरे।