रन्जित खड्काको शतकप्रेरित लुम्बिनी प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ।
आइतबार वीरगञ्जमा भएको खेलमा लुम्बिनीले तेस्रो जित निकालेको हो। जितसँगै लुम्बिनीले सात अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको पुलिसको पनि समान अंक छ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ओपनर रन्जित खड्काको शतकको मद्दतमा अन्तिम बल खेल्नुअघि अलआउट हुँदा २५६ रन बनायो।
रन्जितले पहिलो शतक बनाउने क्रममा १२८ बलमा १३ चौका र ३ छक्काको मद्दतमा १२८ रन बनाए।
आकाश त्रिपाठीले ३६ रन बनाए भने दर्श सोनारको नाममा ३३ रन रह्यो।
बलिङमा पुलिसका ललित राजवंशीले ३ विकेट लिए भने रशिद खान र दिनेश खरेलले २-२ विकेट हात पारे।
लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा २०६ रनमा अलआउट भयो। पुलिसका लागि दिनेश खरेलले ९४ रन बनाए। श्रवण यादवले ३६ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्।
बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने देव खनालको नाममा ३ विकेट रह्यो।