प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
सोमबार वीरगञ्जमा कर्णाली प्रदेशमाथि १३८ रनको जित निकालेर आर्मी छ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा पुगेको हो।
कर्णाली भने ७ खेलबाट ३ अंक जोडेर नवौं स्थानमा छ।
आर्मीको जितमा विकेटकिपर अर्जुन साउदले शतक प्रहार गरे। उनको शतकको मद्दतमा पहिले ब्याटिङ गरेको आर्मी ४८ ओभरमा २६८ रनमा अलआउट भयो।
अर्जुनले १२० बल खेलेर १० चौका र ३ छक्काको मद्दातमा १२१ रन बनाए। बसिर अहमदले ४५ रन बनाए।
बलिङमा कर्णालीका दिनेश अधिकारीले ४ विकेट लिए।
२६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३८ रनमै अलआउट भयो। उसका लागि विपिन शाहीले सबैभन्दा बढी ४० रन बनाए।
बलिङमा आर्मीका बसिर र शाहब आलमले ३-३ विकेट लिए। आकाश चन्दको नाममा २ विकेट रह्यो।