प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले तेस्रो जित निकालेको छ।
जनकपुरमा सोमबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ४५ रनले पराजित गरेको छ। जितसँगै ७ खेलबाट ७ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ।
यता सुदूरपश्चिम ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा रहेको छ। सुदूरपश्चिमले सोमबार दोस्रो हार ब्यहोरेको हो।
पहिले ब्याटिङ गरेको एपिएफले सन्दीप जोराको ५५ रन, लोकेश बमको ४७ रन र सुमित महर्जनको ४१ रनको मद्दतमा ९ विकेटको क्षतिमा २५९ रन बनायो।
बलिङमा सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए भने विकास अग्री र अशोक धामीले २-२ विकेट लिन सफल भए।
२६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि अशोक धामीले ५० रन बनाए भने अरु ब्याटर चल्न सकेनन्।
बलिङमा एपिएफका युवराज खत्रीले पाँच विकेट लिए। उनले १० ओभरमा ३४ रन खर्चिए।