नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालयसँगको उक्त सम्झौता सकिन लागेपछि क्यानले करार अवधि थप गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।
क्यानको भनाइ छ, ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, किर्तिपुरको करार सम्झौता अवधि समाप्त हुन लागेको र उक्त खेलमैदानलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लड लाईट समेत जडान भएको र उक्त मैदान नेपाली क्रिकेट खेलको विकासको लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद मातहत संचालनमा रहेको तल्लो मुलपानी क्रिकेट मैदान यस संघलाई हस्तान्तरण गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ।’
यसअघि त्रिविले क्रिकेट हुँदा हल्ला भएको र विश्वविद्यालयको वातावरण बिग्रिएको भन्दै सम्झौता थप गर्न चाहेको छैन।
तर क्यानले सरकारको प्राथमिकतामा त्रिवि मैदान रहेकाले सम्झौता थप हुनु पर्ने माग गर्दै आएको छ।