बंगलादेश सरकारले पूर्व कप्तान तमिम इकबाललाई बंगलादेश क्रिकेट बोर्डको नयाँ अध्यक्ष नियुक्त गरेको छ।
अघिल्लो वर्ष अक्टोबरमा भएको बोर्डको चुनावमा धाँधली र अनियमितता भएको उजुरीपछि सरकारले अमिनुल इस्लामको नेतृत्वमा रहेको कार्यसमितिलाई बर्खास्त गर्दै तमिमलाई यो जिम्मेवारी सुम्पिएको हो।
तमिम इकबाल ३७ वर्षको उमेरमा बीसीबीको इतिहासकै सबैभन्दा कान्छो अध्यक्ष बनेका छन्। उनले ११ सदस्यीय 'तदर्थ समिति' को नेतृत्व गर्नेछन्। यस समितिमा बंगलादेशका पूर्व कप्तान मिन्हाजुल अबेदिन र चर्चित कमेन्टेटर अथर अली खान लगायतका व्यक्तित्वहरू रहेका छन्।
यो ११ सदस्यीय समितिले आगामी ३ महिनासम्म क्रिकेट बोर्डको कामकारबाही सम्हाल्नेछ। यसको मुख्य काम ३ महिनाभित्र नयाँ चुनाव गराउनु र बोर्डलाई व्यवस्थित बनाउनु हुनेछ।
खेलकुद मन्त्रालयले गठन गरेको छानबिन समितिले गत वर्षको चुनावमा गम्भीर अनियमितता र कमजोरी फेला पारेको थियो। राष्ट्रिय खेलकुद परिषदले सोही प्रतिवेदनका आधारमा पुरानो समिति विघटन गर्ने निर्णय गरेको हो। यसको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषदलाई पनि दिइसकिएको छ।
यसअघिका अध्यक्ष अमिनुल इस्लामले आफूले पद नछाड्ने अडान राखेका थिए। तर, बोर्डभित्र राजनीतिक हस्तक्षेप, शक्तिको दुरुपयोग र खराब प्रदर्शनका कारण उनीमाथि निकै दबाब थियो।
तमिम इकबाल बंगलादेशका महान् खेलाडीमध्ये एक हुन्। उनले बंगलादेशका लागि ३९१ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०२५ मा सन्यास लिएपछि पनि उनी घरेलु क्रिकेट खेलिरहेका थिए, तर खेलकै दौरान हृदयघात भएपछि उनले खेल जीवनबाट पूर्ण विश्राम लिएका थिए। यसअघि उनले बोर्डको चुनावमा धाँधली भएको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
अब तमिमको नेतृत्वमा रहेको यस समितिले बंगलादेशको क्रिकेटलाई नयाँ दिशा दिने र स्वच्छ निर्वाचन गराउने अपेक्षा गरिएको छ।