प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ।
बुधबार जनकपुरमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
अंक तालिकाको पुछारमा रहेको कोशीले अहिलेसम्म जित निकाल्न सकेको छैन। बागमतीले ७ खेलबाट ६ अंक जोड्दै सातौ स्थानमा छ।
टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशी २८.२ ओभरमा ९९ रनमै अलआउट भयो।
उसका लागि कप्तान सुजन थपलियाले सबैभन्दा बढी २१ रन जोडे भने अरु ब्याटर सस्तैमा पेभेलियन फर्किए।
बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ७.२ ओभरमा ३३ रन खर्चिए। सन्दीपले पछिल्ला तीन खेलमा १६ विकेट लिइसकेका छन्।
१०० रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। उसका लागि विवेक मगरले २८ बलमा नटआउट ६१ रन र प्रतिश जिसीले ७ बलमा नटआउट १७ रन बनाए।