आइपिएल २०२६ को एउटा रोमाञ्चक खेलमा २१ वर्षीय युवा ब्याटर मुकुल चौधरीले विष्फोटक ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सलाई कोलकाता नाइट राइडर्सविरुद्ध अविश्वसनीय जित दिलाएका छन्।
१८२ रनको लक्ष्य पछ्याएको लखनउको अवस्था एक समय निकै खराब थियो। १३औं ओभरमा १०४ रन बनाउँदा ५ विकेट खसिसकेको थियो। मुकुल ब्याटिङ गर्न आउँदा लखनउ झनै संकटमा पर्यो र स्कोर १२८ मा ७ विकेट पुग्यो।
अन्तिम २४ बलमा ५४ रन चाहिएको बेला मुकुलले एक्लै खेलको पासा पल्टाए। उनले मात्र २५ बलमा आफ्नो अर्धशतक पुरा गरे।
अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। मुकुलले वैभव अरोराको बलमा दुईवटा सानदार छक्का प्रहार गरे। अन्तिम बलमा १ रन चाहिएको बेला उनले 'लेग-बाई' बाट रन लिँदै लखनउलाई ३ विकेटको जित दिलाए।
मुकुलले आफ्नो पारीमा ७ वटा छक्का प्रहार गरे। उनले महेन्द्र सिंह धोनीको शैलीमा प्रहार गरेको 'हेलिकप्टर सट' चर्चाको विषय बन्यो। कमेन्ट्री गरिरहेका फाफ डु प्लेसिसले समेत उनको खुलेर प्रशंसा गरे।
मुकुल चौधरीलाई लखनउका प्रशिक्षक जस्टिन ल्याङ्गरले भारतकै सबैभन्दा "डरलाग्दो फिनिसर" बन्ने क्षमता भएको खेलाडी मानेका छन्। उनलाई लखनउले २.६ करोड भारुमा किनेको थियो। खेलपछि मुकुलले भने, "म दिनहुँ १०० देखि १५० वटा छक्का प्रहार गर्ने अभ्यास गर्छु, जसले गर्दा मेरो ब्याटको गति बढेको छ।"