प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।
एपिएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशीलाई अन्तिम ओभरमा ९ रन र अन्तिम तीन बलमा ६ रन चाहिएको थियो।
तर एपिएफका अमरसिंह रौटेलाको चौथो बलमा विपिन महतोलाई लोकेश बमले रनआउट गरे। पाँचौ बलमा ज्ञानेन्द्र श्रेष्ठ बोल्ड हुँदा कोशी अन्तिम बल खेल्नअघि २२० रनमा अलआउट भयो पहिलो जित निकाल्ने अवसरबाट बञ्चित भयो।
त्यसअघि कोशीका लागि अंकित सुवेदीले ७२ रन र सुमन श्रेष्ठले ६५ रन बनाए। दुईबीच १२२ रनको साझेदारी भए पनि अरु ब्याटर चल्न सकेनन्।
बलिङमा एपिएफका अभिशेष गौतमले ४ विकेट लिए भने रोहित पौडेलले २ विकेट हात पारे।
एपिएफले सन्दीप जोराको ७२ रन र सुमित महर्जनको ५७ रनको मद्दतमा २२५ रन जोडेको थियो। बलिङमा कोशीका सुजन थपलियाले ३ विकेट लिए भने विपिन महतो र दिपेश कँडेलले २-२ विकेट लिए।
जितपछि एपिएफ आठ खेलबाट नौ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। कोशीले भने आठ खेलमा जित निकाल्न सकेको छैन भने अंक तालिकाको पुछारमा छ।