प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।
शुक्रबार वीरगञ्जमा भएको खेलमा घरेलु टोली मधेश प्रदेशलाई ३५ रनले हराएर बागमती आठ खेलबाट आठ अंक जोडेर छैटौं स्थानमा उक्लिएको हो।
मधेश भने सात खेलबाट नौ अंकसहित चौथो स्थानमा छ।
बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४.३ ओभरमा १७३ रनमा अलआउट भयो। उसका लागि मयन यादवले सर्वाधिक ४० रन बनाए।
बलिङमा बागमतीका प्रतिश जिसीले ५ विकेट लिए भने रिजन ढकालले २ विकेट हात पारे।
त्यसअघि बागमतीले उत्तम मगरको ४४ रन, सन्दीप लामिछानेको ३६ रन र रिनजिङ लामाको २९ रनको मद्दतमा २०८ रन बनाएको थियो।
बलिङमा मधेशका पवन सर्राफले ३ विकेट लिए भने आदिल अन्सारी र रन्जित कुमारले २-२ विकेट हात पारे।