आईपीएल २०२६ को सुरुवाती तीन खेलमा मात्र ६, ७ र ९ रन बनाएर आलोचना खेपिरहेका सञ्जु सामसनले दिल्ली क्यापिटल्स विरुद्ध ५६ बलमा ११५ रनको सानदार नटआउट पारी खेले।
उनको यो शतकको मद्दतले चेन्नई सुपर किंग्सले यस सिजनमा आफ्नो जितको खाता खोल्न सफल भयो। तर, यो सफलताअघि उनी निकै मानसिक दबाबमा थिए।
भारतलाई टी-२० विश्वकप जिताउन पछिल्ला तीन खेलमा ९७ (नटआउट), ८९ र ८९ रनको उत्कृष्ट योगदान दिएर आईपीएल आएका सामसनको सुरुवाती प्रदर्शन भने निराशाजनक थियो।
खेलपछि उनले आफ्नो मनको कुरा यसरी खोले– ‘साँच्चै भन्नुपर्दा, तपाईं जतिसुकै राम्रो लयमा हुनुहोस् वा देशका लागि जतिसुकै म्याच जिताउनुहोस्, लगातार केही खेलमा असफल भएपछि मनमा धेरै शंकाहरू उब्जिँदो रहेछ। तर म केवल आफ्नो आधारभूत खेलमा फर्कन चाहन्थेँ, आफैँमा विश्वास राख्न चाहन्थेँ र पुरानै शैलीमा खेल्न चाहन्थेँ।’
उनले अगाडि थपे, ‘मनमा धेरै कुराहरू खेलिरहेका थिए। के मैले सुरुदेखि नै आक्रामक खेल्नुपर्ने हो? वा खेलको रणनीति नै बदल्नुपर्ने हो? तर मलाई जे कुराले सफलता दिलाइरहेको थियो, त्यसमै अडिग रहेँ र आज त्यसको फल राम्रो निस्कियो।’
रन बनाउन आफूले के परिवर्तन गरेँ भन्ने प्रश्नमा ३१ वर्षीय सामसनले भने, ‘म धेरै पटक असफल भएको छु र त्यसले नै तपाईंलाई कसरी पुनरागमन गर्ने भन्ने सिकाउँछ। असफल हुँदा मन यताउता भइरहन्छ। यस्तो बेला दिमाग र शरीरलाई आधारभूत कुराहरूमा केन्द्रित गर्नुपर्छ। एउटा ब्याट्सम्यानका रूपमा मैले बलको टाइमिङ मिलाउने र बलरको हातबाट बल निस्केको ध्यान दिएर हेर्ने जस्ता साना कुरामा ध्यान दिएँ। हाम्रो सपोर्ट स्टाफसँगको अभ्यासले गर्दा आज सबै कुरा राम्रो भयो।’
यस सिजनमा चेन्नईले रविन्द्र जडेजा र साम करन जस्ता दिग्गज खेलाडी दिएर राजस्थान रोयल्सबाट सामसनलाई 'ट्रेड' गरी आफ्नो टोलीमा भित्र्याएको थियो। उनले यो ठूलो जिम्मेवारी महसुस गरिरहेको बताए।
उनले भने, ‘टोलीले ममाथि जुन विश्वास देखायो, त्यसको बदला प्रदर्शनमार्फत तिर्नु थियो। अर्को टोलीबाट आएर सुरुमै यस्तो प्रदर्शन गर्न सजिलो हुँदैन, तर चेन्नईमा मलाई अर्को घरमा आए जस्तो महसुस भयो। यहाँ मानिसहरू निकै शान्त र सहयोगी छन्। लगातार तीन खेल हारेपछि पनि आज हाम्रो टोलीको मिटिङ मात्र ५० सेकेन्डको थियो। यसले नै यो टोली कति फरक र विशेष छ भन्ने देखाउँछ।’
सामसनले आफ्नो शतक पूरा गरेपछि डगआउटतर्फ फर्किएर 'सैल्युट' गरेका थिए। उनले आफ्नो यो पारी मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङलाई समर्पित गरे। सामसनले भने, ‘यो फ्लेमिङका लागि थियो। मलाई थाहा छ प्रशिक्षकका लागि यो कति चुनौतीपूर्ण हुन्छ। म आफैँले पनि पाँच वर्ष एउटा टोलीको कप्तानी गरेको छु, त्यसैले उहाँको दबाब बुझेर मैले यो शतक उहाँलाई समर्पित गरेको हुँ।’