नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई एक खेलको प्रतिबन्ध गरेको छ।
क्यानले अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावनाविपरित भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्य जरिवाना गर्ने निर्णय गरेको हो।
'नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,' क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ।

अम्पायरको विषयमा गत शुक्रबार बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले पनि असन्तुष्टि जनाए। मधेसविरूद्धको खेलमा एलबिडब्लु अपिलपछि अम्पायरले सुनुवाइ नगर्दा विवाद भएको थियो। सन्दीपले असन्तुष्टि जनाउँदै अम्पायरसँग केही मिनेट विवाद गर्दा उनको हाउभाउ आक्रोशपूर्ण रहेको टेलिभिजनमा देखिएको थियो। विवाद हुँदा सन्दीपलाई बागमतीका अरू खेलाडीले रोक्न खोजेका थिए।
वीरगन्जमा भएको उक्त खेल अम्पायरद्वय बासु कर्ण र कमलेश ठाकुरले सञ्चालन गरेका थिए भने म्याच रेफ्री मोहमद सफिक थिए।
सन्दीपले अम्पायरसँग असन्तुष्टि व्यक्त गरेको विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमध्ये ट्रोल क्रिकेट नेपाल नामक सामाजिक सञ्जालको पेजमा नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीले गरेको टिप्पणीपछि क्रिकेट वृत्त तरगिंत बन्यो।
चार पटक सम्पादन गर्दै करणले कमेन्ट गरेका थिए, 'यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने, आइ मिन मिस्टेक… कति म्याच ब्यान हो? जस्ट फर क्वाइरी? पी. एस – फर प्लेयर्स नलेज र एन्ड सेप्टी'।
यसविषयमा अम्पायर्स एन्ड स्कोरर्स संघले आपत्ति जनाएपछि करणले माफी मागेका थिए। तर क्यानले उनीमाथि कारबाही गरेको हो।