प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले आफ्नो शीर्ष तीन स्थान पक्का गरेको छ।
आइतबार जनकपुरमा नेपाल पुलिस क्लबमाथि ५६ रनको जित निकालेसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले सबै खेल खेल्दा १२ अंक बटुलेको छ। अब दोस्रो स्थानको सुदूरपश्चिमलाई मधेशले मात्र पछि पार्न सक्छ।
पुलिस भने अन्तिम खेलअघि ९ अंक जोडेर तेस्रो स्थानमा छ।
जनकपुरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भयो। उसका लागि नारायण जोशीले ८० बलमा ७ चौका र ६ छक्काको मद्दतमा ८२ रन बनाए।
बलिङमा पुलिसका दिनेश खरेलले ३ विकेट लिए भने सागर ढकालको नाममा ३ विकेट रह्यो।
१९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रनमा अलआउट भयो। उसका लागि अन्तिम विकेटको रुपमा आउट भएका गुल्सन झाले ५० रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले ३-३ विकेट लिए।