तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’को दोस्रो दिन बुधबार ६ खेल सम्पन्न भएका छन्।
माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदान तथा त्रिवि क्रिकेट मैदानमा भएका खेलमा नेपाल पुलिस स्कुल, जेम्स स्कुल, त्रियोग उच्च माध्यमिक विद्यालय, रेडियन्ट रिडर्स स्कुल, केएमसी स्कुल र एन्जल्स हार्ट नेसनल स्कुल विजयी भए।
माथिल्लो मूलपानीमा पुलिस र जेम्सको जित
नेपाल पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो। १३८ रनको लक्ष्य पछ्याएको द सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो। पुलिसका सुनिल ठाकुर र सागर सिंहले समान २–२ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस १८ ओभरमा १३७ रनमा समेटिएको थियो। सुनिल ठाकुरले सर्वाधिक ३९ रन बनाए। द सेलिब्रेसनका कृष्ण हमालले ४ विकेट लिए। जितसँगै समूह ‘जी’मा रहेको पुलिसले पहिलो खेलबाट दुई अंक जोडेको छ।
सोही मैदानमा जेम्स स्कुलले अक्षारिका स्कुललाई १२५ रनले पराजित गर्यो। जेम्सले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। कप्तान सुदिश पौडेलले सर्वाधिक ३६ रन बनाए।
जवाफमा १५० रनको लक्ष्य पछ्याएको अक्षारिका १०.५ ओभरमा २४ रनमै समेटियो। जेम्सका प्रचेत नाखोटिया र स्वराज चौलागाईंले समान ३–३ विकेट लिए। यो जितसँगै जेम्सले सेमिफाइनल यात्राको सम्भावना बलियो बनाएको छ।
तल्लो मूलपानीमा त्रियोग र रेडियन्ट सफल
त्रियोग उच्च माध्यमिक विद्यालयले क्रियटिभ एकेडेमीलाई रोमाञ्चक खेलमा २ रनले हरायो। ११९ रनको लक्ष्य पछ्याएको क्रियटिभ १९.१ ओभरमा ११६ रनमा अलआउट भयो। सम्योग अर्यालले ४३ र पियुष राज भट्टाले ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्रियोगका आर्यन नेपालले ४ तथा साइमन्ड भण्डारीले ३ विकेट लिए। यसअघि त्रियोग १८.३ ओभरमा ११८ रनमा समेटिएको थियो। दीप गुरुङले सर्वाधिक २६ रन बनाएका थिए। समूह ‘बी’मा रहेको त्रियोगको यो पहिलो जित हो।
अर्को खेलमा रेडियन्ट रिडर्स स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गर्यो। रेडियन्टले अनिल गुरुङको अविजित शतकको मद्दतमा २० ओभरमा १ विकेट गुमाएर १७४ रन बनाएको थियो। अनिलले ७३ बलमा १३ चौका र १ छक्कासहित अविजित १०० रन बनाए।
जवाफमा नेक्सस २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमा सीमित भयो। रेडियन्टका समीर चौधरीले ३ विकेट लिए। लगातार दोस्रो हारसँगै नेक्सस समूह चरणबाट बाहिरिएको छ।
त्रिवि मैदानमा केएमसी र एन्जल्स हार्टको दबदबा
केएमसी स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वल्र्ड स्कुललाई ६ विकेटले पराजित गर्यो। ९० रनको लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। कप्तान बिधान सापकोटा ४८ रनमा अविजित रहे भने अमित कुमार दासले अविजित ३२ रन जोडे।
यसअघि हिमालयन ह्वाइटहाउसले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। केएमसीका अमित कुमार दासले ३ विकेट लिए। लगातार दोस्रो हारसँगै हिमालयन ह्वाइटहाउस प्रतियोगिताबाट बाहिरिएको छ।
अर्को खेलमा एन्जल्स हार्ट नेसनल स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलमाथि १४७ रनको फराकिलो जित निकाल्यो। एन्जल्स हार्टले १४ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो। कप्तान सन्दीप साउदले ६० बलमा १४ चौका र ४ छक्कासहित अविजित १२६ रनको विस्फोटक इनिङ्स खेले।
जवाफमा ज्ञान मन्दिर ७.५ ओभरमै २६ रनमा अलआउट भयो। सन्दीप साउद र निरव गर्बुजाले समान २–२ विकेट लिए। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप एन्जल्स हार्टको जितका प्रमुख नायक बने।
आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।