एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभरमा ८ विकेट गुमाएर मात्र ६२ रन बनाउन सक्यो।
भुटानका लागि डेचेन वाङ्मोले अविजित ३९ रनको सर्वाधिक स्कोर बनाइन् भने चाडो ओमले ११ रन जोडिन्। अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालको बलिङमा रुबिना क्षेत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।
रिया शर्माले २ विकेट तथा कविता कुँवर र मनिषा उपाध्यायले १–१ विकेट हात पारे।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो।
सीता राना मगरले ३७ रनको सर्वाधिक स्कोर बनाइन् भने रुबिना क्षेत्रीले २४ रन जोडिन्। सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन बनाए।नेपाल १०औं ओभरमा ४७/६ को दबाबपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो।
त्यसपछि सीता राना मगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गरे। सीता आउट हुँदा नेपालको स्कोर १०७/८ थियो।
त्यसपछि बाँकी १५ बलमा मात्र ६ रन जोड्दा नेपालले अन्तिम दुई विकेट गुमायो।
भुटानको बलिङमा सोनाम र छिरिङ जाङ्मोले ३–३ विकेट लिए भने कप्तान अन्जु गुरुङले २ विकेट हात पारिन्। रित्सी छोडेन र रिया प्रधानले १–१ विकेट लिए।
नेपालले बुधबार आफ्नो पहिलो खेलमा कतारलाई पराजित गरेको थियो। अब शनिबार नेपालले हङकङसँग तेस्रो खेल खेल्ने छ।