आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपालले चुनौतीपूर्ण यात्रा तय गरिरहेको छ। अंक तालिकाको शीर्ष चारमा रहँदै सिधै विश्वकप छनोटमा पुग्ने लक्ष्य राखेको नेपाल सुरुवाती दुई खेलमा नेदरल्यान्ड्स र नामिबियासँग पराजित भएसँगै दबाबमा छ।
सोमबार नेपालले नामिबियाविरुद्ध आफ्नो तेस्रो खेल खेल्दै गर्दा मैदानभित्र मात्र होइन, मैदान बाहिरको व्यवस्थापनमा पनि गम्भीर रिक्तता देखिएको छ।
एकदिवसीय सिरिजमा टोली संघर्षरत रहँदा नेपाली टोली आधिकारिक व्यवस्थापक (म्यानेजर) बिना नै खेलिरहेको छ। नेपाल क्रिकेट संघ (क्यान) को असार २१ गते बसेको बोर्ड बैठकले केन्द्रीय सदस्य श्रीधर केसीलाई व्यवस्थापक र चिफ फाइनान्स अफिसर रमेशकुमार न्यौपानेलाई सह–व्यवस्थापक नियुक्त गरेको थियो।
तर, नियुक्तिमा भएको ढिलाइ र भिसा प्रक्रियाको सुस्तताका कारण दुवै जना नेदरल्यान्ड्स पुग्न सकेनन्।
भिसाको सकस
नेपाली टोली जर्सी भ्रमणमा रहँदा नै अनुपस्थित रहेका व्यवस्थापकहरू सिरिज सकिन लाग्दासम्म पनि टोलीसँग जोडिन सकेका छैनन्। ‘भिसा आउन ढिला भयो, बुधबार सिरिज नै सकिँदैछ, अब भिसा आए पनि जाँदैनौँ,’ व्यवस्थापक केसीले सेतोपाटीलाई बताए।
क्यानका एक कर्मचारीका अनुसार म्यानेजर नियुक्तिमै ढिलाइ भएकाले भिसा आवेदन समयमा हुन नसकेको हो। भिएफएसमार्फत दिल्ली र त्यहाँबाट नेदरल्यान्ड्सको हेगसम्म कागजात पुग्नुपर्ने प्रक्रियागत झन्झटले टोली म्यानेजरविहीन बन्न पुग्यो।
‘सुरुमा त क्यानले म्यानेजर नियुक्तिमा नै ढिलाइ गर्यो। त्यसपछि भिएफएसमार्फत् सुरुमा दिल्ली र त्यहाँबाट पनि नेदरल्यान्ड्सको हेगमा कागजात पुग्नु पर्ने भएकाले ढिलाइ भएको हो,’ ती कर्मचारीले भने, ‘यसले नेपाली टोली म्यानेजरबिहीन बनेको हो। यसरी फरक फरक म्यानेजर नियुक्ति गर्दा यस्तै समस्या आइरहन्छ। त्यसैले निश्चित समयका लागि म्यानेजर नियुक्ति गर्न पर्छ।’
यसअघि केसीलाई क्यानले नेपाली टोली नेदरल्यान्ड्स जानुअघि विदाइ समेत गरेको थियो। केसी जर्सी र नेदरल्यान्ड्स नपुगेपछि नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटीले म्यानेजरको काम गरेको क्यानका कर्मचारीको भनाइ छ।
श्रीधर केसी बायाँबाट दोस्रो खादा लगाएका।
पुरानै प्रवृत्तिको निरन्तरता
म्यानेजर नियुक्तिमा हुने ढिलाइ र विवाद क्यानका लागि नयाँ होइन। यसअघि पनि ‘विदेश सयर’का लागि म्यानेजर नियुक्त गरिने भन्दै क्यानको आलोचना हुँदै आएको छ। टी–२० विश्वकप २०२६ का क्रममा कन्सल्टेन्ट प्रशिक्षक निक पोथसले नेपाली टोलीमा हरेक प्रतियोगितामा म्यानेजर फेरिने परिपाटीले खेलाडीलाई दबाब हुने भन्दै व्यवस्थापन सुधार्न सुझाव दिएका थिए।
तर, क्यानले उक्त सुझावलाई आत्मसात गरेको देखिएन। यसपटक नेदरल्यान्ड्स सिरिजमा सुरुमा उपाध्यक्ष रोशन सिंहलाई टिम लिडर र दुर्गाराज पाठकले ‘इच्छा प्रकट गरेको’ भन्दै अध्यक्ष चतुरबहादुर चन्दले ह्वाट्सएप ग्रुपमा प्रस्तावको सुचना हालेका थिए। तर केहीपछि पाठकले आफू नजाने भन्दै प्रतिक्रिया दिएका थिए। त्यसैले बोर्डबाट म्यानेजर नियुक्ती हुन ढिलाइ भएको थियो।
गत वर्ष युएईमा भएको लिग–२ सिरिजमा पनि नेपाल म्यानेजरबिहीन थियो। त्यतिबेला पनि अध्यक्ष चतुरबहादुर चन्द र अन्य पदाधिकारीबीचको असमझदारीले म्यानेजर चयनमा किचलो हुँदा टोली अभिभावकविहीन बनेको थियो।
त्यतिबेला ओमानमा भएको विश्वकप छनोटमा नियुक्त भएका म्यानेजरलाई निरन्तरता दिने प्रस्ताव अध्यक्ष चन्दले अस्वीकार गरेका थिए। त्यसपछि उनले विनयराज भण्डारीको नाम सिफारिस गरे पनि भिसाको ढिलाइ हुँदा उनी पनि युएई जान पाएका थिएनन्। त्यतिबेला पनि प्राविधिक विश्लेषक सिवाकोटीले नै म्यानेजरको भूमिका निर्वाह गरेका थिए।
एनपिएल र आन्तरिक विवादमा क्यान
पछिल्लो समय क्यानको बोर्ड बैठक क्रिकेट विकासभन्दा पनि आन्तरिक शक्ति सन्तुलन र नेपाल प्रिमियर लिग (एनपिएल) को विवादमा बढी केन्द्रित देखिन्छ। आर्थिक अनियमिताको आरोप खेपिरहेको एनपिएल गभर्निङ काउन्सिलमा सदस्य थप गर्ने विषयमा अध्यक्ष र सचिव पारस खड्काबीचको कार्यसम्पादनलाई लिएर सदस्यहरू विभाजित थिए। गत असार २१ गतेको बैठकमा झण्डै २ घन्टा लामो विवादपछि एनपिएलका लागि उपाध्यक्ष रोशन सिंहको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको थियो।
योहि दिन अरु थ्रुपै निर्णय गरे पनि क्यानले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन। यसअघि क्यानले इमेल र सामाजिक सञ्जालमार्फत् निर्णय सार्वजनिक गर्ने गरेको थियो। पछिल्लो पटक एनपिएलको नाफाको विषयमा अडिट रिपोर्ट र सामाजिक सञ्जालमा राखिएको विवरण फरक पाइएको थियो। जसका कारण क्यानले सामाजिक सञ्जालबाट आफ्नो निर्णय नै गायब बनाएको छ।
असार २१ को बैठकले केही महत्वपूर्ण निर्णयहरू गरे पनि ती गुपचुप राखिएका थिए। जसमा एसिसी वुमन्स यू–१९ प्रिमियर कपका लागि जयन्ती भट्टलाई म्यानेजर र महेश रिजाललाई प्रशिक्षक नियुक्त गरिएको छ। सन्तोषजनक नतिजा निकाल्न नसकेको भन्दै महिला राष्ट्रिय टोलीका प्रशिक्षक हर्षल पाठकलाई बर्खास्त गरिएको छ।
प्रवक्ताको जिम्मेवारी सचिव पारस खड्कालाई दिइएको छ। यसअघिका प्रवक्ता रहेका छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषदले कार्यकाल सकिनुअघि नै फिर्ता बोलाएको थियो।
सन् २०२७ मा नेपाल र बंगलादेशमा हुने यू–१९ विश्वकपको मैदान तयारी संयोजकमा उपाध्यक्ष रोशन सिंहलाई तोकिएको छ।
आइसिसी वार्षिक साधारणसभामा अध्यक्ष र सचिवको सहभागिता स्वीकृत गरिएको थियो भने यसअघि निलम्बित अन्तर्राष्ट्रिय अम्पायर संजय गुरुङको निलम्बन फुकुवा गरिएको छ। यसअघि अध्यक्षलाई सामाजिक सञ्जालमार्फत आरोप लगाएको भन्दै उनलाई अध्यक्षले निलम्बन गरेका थिए भने निलम्बन फिर्ताको प्रस्ताव पनि अध्यक्ष चन्दले नै गरेका थिए।
पुराना समितिहरू खारेज गर्दै वीरेन्द्र चन्दको संयोजकत्वमा प्रतियोगिता समिति र करण महत्रा क्षेत्रीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ। यसअघि क्यानले समिति गठन गरे पनि काम गर्न दिइएको थिइएन। जसका कारण समिति निस्क्रिय जस्तै थिए।