आइसिसी विश्वकप लिग-२ मा नेपालको खराब प्रदर्शन जारी छ।
नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ।
सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ३ रनले हरायो। खेलमा नेपाललाई जितका लागि अन्तिम बलमा छक्का चाहिएको थियो। तर गुल्सन झाले नामिबियाका इरासमसविरुद्ध एक रन मात्र बनाउन सके।
जसका कारण २१२ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सक्यो।
खेलमा गुल्सनले गुल्सनले १० बलमा नटआउट १९ रन बनाए भने आरिफ शेख ४९ बल खेलेर ३८ रनमा नटआउट रहेका थिए।
त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ३४ रन र आसिश शेखले ४५ रन बनाएका थिए। इशान पाण्डे १४ रन र भीम सार्की १ रनमा आउट भए। कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ३ रनमा पेभिलियन फर्के।
बलिङमा नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेटको क्षतिमा २११ रन बनायो।
उसका लागि जान फ्राइलिंकले १०० रन र स्टिनकाम्पले ५९ रनको योगदान दिए।
बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा २९ रन मात्र दिए।
हारसँगै नेपाल अंङ्क तालिकाको छैटौ स्थानमा झरेको छ। नेपालको ३१ खेलबाट २४ अंक छ। नेपाललाई पछि पार्दै पाँचौ स्थानमा पुगेको नामिबियाको २६ अंक भएको छ।