आइसिसी विश्वकप लिग-२ मा नेपालको खराब प्रदर्शन जारी छ। नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगिसकेको छ।
सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ३ रनले हरायो। खेलमा नेपाललाई जितका लागि अन्तिम बलमा छक्का चाहिएको थियो। तर गुल्सन झाले नामिबियाका इरासमसविरुद्ध एक रन मात्र बनाउन सके।
जसका कारण २१२ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सक्यो।
हारसँगै नेपाल अंक तालिकाको छैटौ स्थानमा झरेको छ। नेपालको ३१ खेलबाट २४ अंक छ। नेपाललाई पछि पार्दै पाँचौ स्थानमा पुगेको नामिबियाको २६ अंक भएको छ।
खेलपछि रोहितले भने, ‘जितको निकै नजिक पुगेर पनि अन्ततः हामी मात्र ३ रनले चुक्यौँ, जुन दुर्भाग्यपूर्ण रह्यो।’
उनले बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ खराब रहेको पनि बताए।
‘मलाई लाग्छ हाम्रा बलरले आज राम्रो प्रदर्शन गरे, विशेषगरी खेलको सुरुवाती आधा इनिङग्ससम्म। विपक्षीलाई २११ रनमा रोक्नु आफैँमा एउटा राम्रो प्रयास थियो। करणले निकै कसिलो बलिङ गरे भने हाम्रा स्पिनरहरूले पनि उत्कृष्ट साथ दिए।
उनले थपे, ‘तर, लक्ष्य पछ्याउने क्रममा हामीले धेरै 'डट बल' खेल्यौँ, जसले गर्दा खेलको अन्तिमतिर अनावश्यक दबाब सिर्जना भयो। अन्तिमका ४–५ ओभरमा प्रतिओभर १०–१२ रन बनाउनु कहिल्यै सजिलो हुँदैन। त्यसैले सुरुवाती ओभरमा खेलेका ती डट बलहरू नै हामीलाई महँगो सावित भए। ब्याटिङको सुरुवात निकै राम्रो भएको थियो, सायद यो प्रतियोगिताकै उत्कृष्ट सुरुवात थियो। तर मध्य ओभरहरूमा हामीले लय गुमायौँ, विशेषगरी इसान आउट भएपछि। त्यसमाथि म र दीपेन्द्रबीचको त्यो रन-आउट खेलको निर्णायक मोड बन्यो। हामीसँग सुधार गर्नुपर्ने ठाउँहरू अझै धेरै छन्।’
उनले नेदरल्यान्ड्स सिरिज सोचे जस्तो नभएको भन्दै अन्तिम खेलमा सुधार गर्न कोशिस गर्ने बताए।
‘यो पूरै भ्रमणमा हाम्रो ब्याटिङ सोचेजस्तो हुन सकेको छैन। आशा छ अन्तिम खेलमा हामी यसमा सुधार गर्नेछौँ। पिचमा बल बाउन्स भइरहेकाले हामीले विकेटको दायाँ-बायाँ सटहरू बढी खेल्न जरुरी छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले डट बलको संख्या घटाउनै पर्छ।’
यो सिरिजको अन्तिम खेलमा नेपालले अब बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।