१४ वर्षको उमेरमा घरेलु क्रिकेट र १५ वर्षमै भारतको राष्ट्रिय टोलीमा डेब्यू गरेका वैभव सूर्यवंशीले धेरै विश्व कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन्।
सन् २०२४ मा प्रथम श्रेणी क्रिकेटबाट यात्रा सुरु गरेका उनले सन् २०२६ को बेलायत भ्रमणमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका हुन्।
उनले तोडेका मुख्य कीर्तिमान यस्ता छन्:
१. टी-२० र आईपीएलका सबैभन्दा कान्छा कीर्तिमानधारी
वैभवले मात्र १४ वर्ष ३२ दिनको उमेरमा पुरुष टी-२० मा अर्धशतक र शतक बनाएर विश्व कीर्तिमान कायम गरे। आईपीएल २०२५ मा राजस्थान रोयल्स बाट खेल्दै उनले गुजरात टाइटन्स विरुद्ध मात्र १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे, जुन आईपीएल इतिहासको दोस्रो छिटो शतक हो।
२. 'लिस्ट ए' क्रिकेटमा तहल्का
१४ वर्ष २७२ दिनको उमेरमा उनले बिहारका लागि खेल्दै अरुणाचल प्रदेश विरुद्ध ८४ बलमा १९० रनको विशाल इनिङ्स खेले। यस क्रममा उनले ३६ बलमै शतक र ५९ बलमा १५० रन पूरा गर्दै 'लिस्ट ए' क्रिकेटको सबैभन्दा तीव्र १५० रनको कीर्तिमान बनाए।
३. छक्का प्रहारमा नयाँ उचाइ
वैभव टी-२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। उनले मात्र २९ इनिङ्स (५१४ बल) मा यो सफलता पाएका हुन्। यसअघि अस्ट्रियाका करणवीर सिंह (३३ इनिङ्स) र बेल्जियमका साबेर जाखिलको नाममा यो रेकर्ड थियो।
४. ११ बलमै अर्धशतक
सन् २०२६ मा इन्डिया 'ए' बाट श्रीलंका 'ए' विरुद्ध खेल्दै उनले मात्र ११ बलमा अर्धशतक प्रहार गरे। योसँगै उनले २१ वर्ष पुरानो 'लिस्ट ए' क्रिकेटको सबैभन्दा चाँडो अर्धशतकको रेकर्ड तोडेका छन्।
५. रनको वर्षा: टी-२० र आईपीएलमा १,००० रन
टी-२०: मात्र ४७३ बलमा करियरको १,००० रन पूरा गर्दै उनले मिचेल ओवेनको ५३३ बलको रेकर्ड तोडे। उनी १८ वर्षअघि नै १,००० टी-२० रन बनाउने पहिलो खेलाडी हुन्।
आईपीएल: आन्द्रे रसेलको ५४५ बलको रेकर्डलाई उछिन्दै उनले मात्र ४४० बलमा १,००० आईपीएल रन पूरा गरे।
६.क्रिस गेलको रेकर्ड धराशायी
आईपीएल २०२६ मा उनले ३२७ बल खेल्दै ७२ छक्का प्रहार गरे। योसँगै उनले कुनै पनि एक टी-२० प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने क्रिस गेलको रेकर्ड (५९ छक्का) तोडेका छन्। सो सिजन ७७६ रन बनाउँदै उनले 'ओरेन्ज क्याप' समेत जिते।
७. अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता
कान्छो अर्धशतकधारी : जिम्बाब्वे विरुद्ध १८ बलमा अर्धशतक प्रहार गर्दै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी (१५ वर्ष ११८ दिन) बने।
प्लेयर अफ द म्याच र सिरिज : जिम्बाब्वे विरुद्धकै सिरिजमा १५ वर्ष १२१ दिनको उमेरमा उनी 'प्लेयर अफ द म्याच' र 'प्लेयर अफ द सिरिज' जित्ने विश्वकै कान्छा पुरुष खेलाडी बने। उनले अफगानिस्तानका रहमानुल्लाह गुरबाज र भारतकी शेफाली वर्माको रेकर्डलाई समेत पछि पारे।