इंग्ल्याण्डको एउटा स्थानीय क्रिकेट खेलमा अनौठो तरिकाले 'चिटिङ' गरिएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
खेलका क्रममा एक फिल्डरले ब्याटको छेउबाट बल जाँदा ठ्याक्कै औंला पड्काएर (चड्काएर) बल ब्याटमा लागेको जस्तो नक्कली आवाज निकालेको आरोप लागेको छ। यस्तो आवाज सुनेपछि अम्पायर झुक्किएर ब्याटरलाई 'आउट' दिने गर्थे।
गत हप्ता 'सल्टबर्न क्रिकेट क्लब' र 'नर्टन क्रिकेट क्लब' बीचको खेलपछि यो विवाद बाहिर आएको हो। सामाजिक सञ्जालमा धेरै भिडियोहरू सार्वजनिक भएपछि 'नर्थ योर्कशायर र साथउ डरहम लिग' ले यस घटनाबारे छानबिन सुरु गरेको छ। ती फिल्डरले बारम्बार यसरी नै विकेट लिएको देखिएपछि मानिसहरूले उनलाई जिस्क्याउँदै ‘क्लिकी पोन्टिङ’ नाम दिएका छन्।
बेन ममेरी नामका व्यक्तिले सामाजिक सञ्जाल 'एक्स' मा एउटा भिडियो पोस्ट गर्दै यसलाई ‘मैले देखेको अहिलेसम्मकै सबैभन्दा घटिया ठगी’ भनेका छन्। भिडियोमा बल ब्याटको नजिकैबाट जाँदा विकेटकिपर र स्लिपमा बसेका फिल्डरले एकैसाथ आउटको जोडदार अपिल गरेको देखिन्छ। बल ब्याटमा कतै नलागे पनि अम्पायरले आउट दिएपछि ब्याटर अचम्ममा परेका देखिन्छन्।
अनुसन्धानका क्रममा यो घटना एकपटक मात्र नभई धेरै खेलमा दोहोरिएको पाइएको छ। क्रिकेटको तथ्यांक अनुसार सल्टबर्नका विकेटकिपरले एउटै खेलमा ८ वटा क्याच समातेका थिए, जुन अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको कीर्तिमान (७ क्याच) भन्दा पनि बढी हो।
मिडल्सब्रो क्लबका कप्तानले पनि आफ्नो टिमसँगको खेलमा यस्तै दुईवटा घटना भएको दाबी गरेका छन्।
तथ्यांक विश्लेषण गर्दा ब्रायन डिभाइन नामका ती फिल्डर टिममा हुँदा १३ खेलमा विकेटकिपरले ३९ वटा क्याच लिएका छन्, तर उनी नहुँदा ७ खेलमा जम्मा ५ वटा मात्र क्याच समातिएका छन्।
यसले ती फिल्डरले नै औंला पड्काएर विकेट लिन मद्दत गरेको कुरालाई थप पुष्टि गरेको छ।