सन् २०१८ को १९ वर्षमुनिको विश्वकप फाइनलमा शतक प्रहार गरेर भारतलाई जिताएका चर्चित क्रिकेटर मञ्जोत कालरा अहिले श्रीलंकाको जेलमा छन्।
श्रीलंकामा भइरहेको 'लंका प्रिमियर लिग' २०२६ मा 'म्याच फिक्सिङ' को प्रयास गरेको आरोपमा कोलम्बोको अदालतले उनको जमानत निवेदन अस्वीकार गरेको छ।
मञ्जोत कालरा र अर्का भारतीय नागरिक युवराज पुष्पलाई यसै महिनाको सुरुमा श्रीलंका प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि जारी लिगका खेलहरू मिलेमतो गर्न खेलाडीहरूलाई प्रभाव पार्न खोजेको गम्भीर आरोप छ।
उनीहरूले आफ्नो स्वास्थ्य खराब भएको भन्दै जमानतमा रिहा हुन अदालतमा निवेदन दिएका थिए, तर न्यायाधीश असंगा एस. बोदरागामाले प्रहरी अनुसन्धान जारी रहेको भन्दै उनीहरूलाई जुलाई ३१ सम्म हिरासतमै राख्न आदेश दिएका छन्।
यो काण्ड तब बाहिर आयो जब श्रीलंकाका चर्चित खेलाडीहरू भानुका राजपाक्षे, अविष्का फर्नान्डो र दुनिथ वेलालागेले आफूहरूलाई फिक्सिङको प्रस्ताव आएको भन्दै उजुरी गरे। पछि अरू दुई खेलाडी पनि थपिएपछि उजुरी गर्ने खेलाडीको संख्या ५ पुगेको छ।
प्रहरीले यसबारे टेलिफोन कुराकानी र भिडियो प्रमाणहरू आफूसँग रहेको दाबी गरेको छ। यद्यपि, कालराका वकिलले भने यी आरोपहरू अस्वीकार गर्दै आएका छन्।
मञ्जोत कालरा लंका प्रिमियर लिगको टोली 'जाफ्ना किंग्स' का सह-मालिक समेत थिए। तर यो विवाद र आर्थिक दायित्व पूरा नगरेपछि आयोजकले उनको कम्पनीसँगको सम्झौता रद्द गरिदिएको छ।
अहिले जाफ्ना किंग्स टोलीलाई श्रीलंका क्रिकेट बोर्डले नै आफ्नो नियन्त्रणमा लिएर खेल अगाडि बढाइरहेको छ।