पाकिस्तानका शान मसूदले औंला भाँचिएको पीडा सहेरै पनि वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलमा ब्याटिङ गरेका छन्।
तेस्रो दिन ब्याटिङ गर्ने क्रममा वेस्ट इन्डिजका बलर जेडेन सिल्सको बलले लागेर उनको औंला भाँचिएको थियो।
औंलाको चोटका कारण उनले चौथो दिनको बिहान फिल्डिङ गर्न सकेनन् र आफ्नो नियमित स्थान (तेस्रो नम्बर) मा ब्याटिङ गर्न पनि आएनन्।
तर, २११ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात निकै खराब रह्यो र ५३ रनमै ६ विकेट गुमेपछि मसूद आठौं नम्बरमा ब्याटिङ गर्न मैदान छिर्न बाध्य भए।
भाँचिएको औंला लिएर मैदान उत्रिता उनले ३ रन बनाउन सके भने पाकिस्तान १२० रनमै अलआउट हुँदा ९० रनको हार ब्यहोर्यो।
यसअघि मसूद समयमा आउन नसक्दा अलराउन्डर आमिर जमालले छैटौं नम्बरमा ब्याटिङ गर्नुपरेको थियो। मसूदले पहिलो इनिङ्समा उत्कृष्ट शतक प्रहार गरेका थिए।
यो चोटले मसूदको आगामी खेलहरूमा कस्तो असर पार्छ भन्ने अझै प्रस्ट भइसकेको छैन।
पाकिस्तानको क्रिकेट तालिका अहिले निकै व्यस्त छ। आइतबारबाट दोस्रो टेस्ट सुरु हुँदैछ भने त्यसलगत्तै पाकिस्तानको टोली तीनवटा टेस्ट खेल्न इंग्ल्याण्ड जाने तयारीमा छ।
पाकिस्तानका लागि चोटको समस्या यतिमा मात्र सीमित छैन। यसअघि नै अब्दुल्लाह फजल ढाडको चोटका कारण यो सिरिज र इंग्ल्याण्ड भ्रमण दुवैबाट बाहिरिइसकेका छन्। उनको विकल्पका रूपमा टोलीले अब्दुल्लाह सफिक र साउद शकिललाई बोलाइसकेको छ।