आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तीन खेलमा पराजय भोगिसकेको छ।
नामिबियासँग दुवै खेल र नेदरल्यान्ड्ससँग पहिलो खेलमा पराजित भोगेको नेपाली टोलीका मुख्य स्पिनर सन्दीप लामिछाने तीनै खेलमा विकेटविहिन बनेका थिए।
नामिबियाविरूद्धको पहिलो खेलमा ३२ रन खर्चिदा कुनै विकेट लिन नसकेका सन्दीपले नेदरल्यान्ड्ससँगको खेलमा पनि ३६ रन खर्चिदा विकेट लिन सकेनन्।
यस्तै नामिबियासँगको दोस्रो खेलमा पनि सन्दीप चलेनन्। यो खेलमा उनले ३६ रन दिए भने कुनै विकेट हात पारेनन्।
लगातार तीन खेलमा विकेट लिन नसकेपछि सन्दीप चौथो खेलमा भने प्लेइङ ११ मा पर्न सकेनन्।
नेदरल्यान्ड्सविरूद्ध बुधबार भइरहेको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। सन्दीपसँगै सोमपाल कामी बाहिरिदा ललित राजवंशी र हेमन्त धामीलाई खेलाइएको छ।
एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक १५४ विकेट लिएका सन्दीप लयकै करण टोलीमा नपरेको यो पहिलो पटक हो।