नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख छनोटकर्ता लेखबहादुर (एलबी) क्षेत्रीले आफूले ७ महिनाअघि पदबाट राजीनामा दिएको बताएका छन्।
पछिल्लो समय नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेट टोलीको प्रदर्शन खस्किएपछि छनोट समितिको विषयमा प्रश्न उठेको थियो।
आइसिसी विश्वकप लिग-२ मा नेपालले चारै खेल गुमाएपछि टोली छनोटको विषयमा गम्भीर प्रश्न उठेपछि क्षेत्रीले आफूले सात महिनाअघि नै राजीनामा दिएको बताएका हुन्।
' विगत ३-४ महिनादेखि यता सीनियर महिला र पुरुष राष्ट्रिय क्रिकेट टोलीको खस्किएको प्रदर्शनका सम्बन्धमा मलाई प्रमुख छनोटकर्ता भनी/समझी सामाजिक सञ्जाल र फोन मार्फत टोली छनोटका सम्बन्धमा विभिन्न टिकाटिप्पणी भइरहेको प्रति गम्भीरतापूर्वक लिएर यस विषयमा सबैलाई स्पष्ट गराउन चाहन्छु कि म २ जनावरी २०२६ देखि उक्त जिम्मेवारीमा आफू नरहेको र पदबाट राजीनामा गरिसकेको छु(अर्थात् ७ महिना पहिलेनै),’ क्षेत्रीको भनाइ छ, ‘नेपाल क्रिकेट संघबाट यस विषयमा समाचार सम्प्रेषण नगरि दिँदा बाध्यताले यो विषय यहाँ प्रस्तुत गरेको छु। यस विषयका सम्बन्धमा अन्योलता भएकोमा आम समर्थक प्रति क्षमाप्रार्थी छु।’
राजीनामा दिनुको कारण भने उनले खुलाएका छैनन्।
क्षेत्री गत वर्षको साउनमा राष्ट्रिय महिला तथा पुरुष टोलीको प्रमुख छनोटकर्ताको रुपमा नियुक्त भएका थिए।
क्यानले प्रमुख छनोटकर्तालाई वार्षिक ४ लाख ५० हजार र छनोटकर्तालाई वार्षिक ४ लाख रुपैयाँ प्रदान गर्दै आएको छ।
तर क्षेत्रीले छनोटकर्ता नियुक्त पाँच महिना नपुग्दै राजीनामा दिएका थियो। क्षेत्रीले राजीनामा दिएको विषयमा यसअघि नै क्रिकेटबृत्तमा चर्चा हुने गरे पनि क्यानले अहिलेसम्म औपचारिक रुपमा जानकारी गरएको छैन।
राष्ट्रिय टोलीमा पर्ने खेलाडीको छनोट गर्न प्रमुख जिम्मेवारी छनोट समितिको हुने गर्छ। क्यानले एक वर्षअघि क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहेको छनोट समिति बनाएको थियो। समितिले प्रशिक्षक प्रशिक्षक स्टुअर्ट लसँगको समन्वयमा राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्ने बताइएको थियो। तर क्षेत्रीले भने जिम्मेवारी पाएको ५ महिनामै राजीनामा दिएका थिए।