नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल छोट्ट्याइएको छ।
लगातारको वर्षाका कारण खेल छोट्ट्याइएको हो। दुवै टोलीले अब पाँच–पाँच ओभर मात्रै खेल्नेछन्।
त्रिवि क्रिकेट मैदानमा वर्षा रोकिएपछि ग्राउन्ड स्टाफले मैदान खेल्नयोग्य बनाउन लामो समय मेहनत गरेका थिए। त्यसपछि मैदानको अवस्थाबारे निरीक्षण गरेका अम्पायरले खेल पाँच ओभरमा सीमित गर्ने निर्णय लिएका हुन्।
निर्धारित नयाँ तालिकाअनुसार ७ः४१ बजे खेल हुने भनिए पनि अहिलेसम्म सुरू भएको छैन।
छोटो खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री पनि छोट्ट्याइएको छ।
स्कोरबोर्डतर्फको दोस्रो विकेटबाट खेल सञ्चालन हुनेछ। पाँच ओभरको खेल र छोट्ट्याइएको बाउन्ड्रीका कारण दुवै टोलीका ब्याटरले आक्रामक ब्याटिङ गर्नुपर्ने अवस्था छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दिप लामिछाने नेतृत्वमा रहेको विराटनगर दुवैले आज लिग चरणको तेस्रो खेल खेल्दैछन्।
सुदूरपश्चिमले हालसम्म दुई मध्ये एक खेल जितेर दुई अंक जोडेको छ।
विराटनगर भने दुवै खेलमा पराजित हुँदै अहिलेसम्म अंकविहीन अवस्थामा छ।