भारतका युवा ब्याटर प्रियांश आर्यले घरेलु टी–२० क्रिकेटमा ऐतिहासिक ब्याटिङ गर्दै नयाँ कीर्तिमान बनाएका छन्। सैयद मुस्ताक अली ट्रफीअन्तर्गत मंगलबार तमिलनाडुविरुद्ध दिल्लीका कप्तान आर्यले मात्र ६८ बलमा १८१ रनको विस्फोटक इनिङ्स खेले।
२५ वर्षीय ओपनर आर्यको यो स्कोर पुरुष टी–२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर हो। यससँगै उनी टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने भारतीय ब्याटरसमेत बनेका छन्।
आर्यले आफ्नो इनिङ्समा १९ छक्का र ९ चौका प्रहार गरे। उनले केवल १८ बलमा अर्धशतक पूरा गरेका थिए भने ३६ बलमै शतक बनाएका थिए। शतकपछि पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिएका उनले थप २४ बलमा १५० रनको आँकडा पार गरे।
आर्यले तमिलनाडुका एम सिद्धार्थलाई लगातार बलमा चौका र छक्का प्रहार गर्दै क्रिस गेलको १७५ रनको कीर्तिमानसमेत उछिनेका थिए। गेलले सन् २०१३ मा आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्दै पुणे वारियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए।
तर, आर्य पुरुष टी–२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको विश्व कीर्तिमान बनाउन भने सात रनले चुके। दक्षिण अफ्रिकाका लुआन–ड्रे प्रिटोरियसले गत महिना सीएसए टी–२० च्यालेन्जमा १८८ रन बनाउँदै यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
आर्यले एकै इनिङ्समा १९ छक्का प्रहार गर्दै फिन एलेनको कीर्तिमानसँग पनि बराबरी गरेका छन्। टी–२० क्रिकेटको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा अब उनी संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
उनको विस्फोटक ब्याटिङको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २७५ रन बनायो। यो सैयद मुस्ताक अली ट्रफीको इतिहासमा संयुक्त रूपमा तेस्रो ठूलो योगफल हो।
दिल्लीले प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ। उसले खेलेका ६ इनिङ्समध्ये पाँचमा २०० भन्दा बढी रन बनाएको छ। सौराष्ट्रविरुद्ध भने दिल्ली २०० रन बनाउन असफल भएको थियो। उक्त खेल नै दिल्लीले प्रतियोगितामा हारेको एकमात्र खेल हो।
आईपीएलमा पञ्जाब किंग्सबाट खेल्ने आर्यलाई टोलीले सन् २०२७ को आईपीएल अक्सनअघि रिटेन गरिसकेको छ। यसअघि आईपीएल २०२६ मा पनि उनी तीव्र गतिमा रन बनाउने ओपनरमध्ये एक थिए।