भारतीय क्रिकेटका युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। उनले ५० ओभरको क्रिकेटमा अहिलेसम्मकै छिटो शतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
कतारको दोहामा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत मंगलबार यूएईविरुद्धको खेलमा भारत ए टोलीका ओपनिङ ब्याटर १५ वर्षीय सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गरे।
२५० रनको लक्ष्य पछ्याउने क्रममा सूर्यवंशीले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेका थिए। उनले केवल १६ बलमा अर्धशतक पूरा गर्दै आफ्नो विस्फोटक लय देखाएका थिए। त्यसपछि पनि उनले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै २८ बलमै शतक पूरा गरे।
यससँगै उनले अस्ट्रेलियाका जेक फ्रेजर म्याकगर्कको नाममा रहेको कीर्तिमान तोडेका छन्। म्याकगर्कले सन् २०२३ मा साउथ अस्ट्रेलियाबाट तास्मानियाविरुद्ध २९ बलमा शतक बनाएका थिए।
सूर्यवंशीले भारतीय खेलाडीले लिस्ट ए क्रिकेटमा बनाएको सबैभन्दा छिटो शतकको कीर्तिमान पनि तोडे। यसअघि बिहारका सकिबुल गनीले गत वर्ष अरुणाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए।
त्यस्तै, दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए। भारतका इशान किशनले पनि सन् २०२५ मा झारखण्डबाट कर्नाटकविरुद्ध ३३ बलमा शतक पूरा गरेका थिए।
सूर्यवंशीको कीर्तिमानी इनिङ्समा १५ छक्का र एक चौका समावेश थियो। उनको यो लिस्ट ए क्रिकेटमा दोस्रो शतक हो।
१५ वर्षीय सूर्यवंशी पछिल्लो समय भारतीय क्रिकेटमा लगातार चर्चामा छन्। हालै उनी सैयद मुस्ताक अली ट्रफीमा बिहारको कप्तानी गर्दै टी–२० क्रिकेटमा टोलीको नेतृत्व गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
राइजिङ स्टार्स एसिया कपमा भने उनले नेपाल र पाकिस्तान एविरुद्धको अघिल्लो दुई खेलमा क्रमशः ११ र २६ रन बनाएका थिए। तर, यूएईविरुद्धको खेलमा उनले कीर्तिमानी शतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।