क्रिकेटमा ब्याटर बोल्ड हुन बलले स्टम्पमा लाग्नुपर्छ।
बलरले बल फ्याँक्छन्। ब्याटरले रोक्न खोज्छन् वा सट खेल्न खोज्छन्। बलले ब्याट छलेर स्टम्प ढालिदिँदा ब्याटर बोल्ड हुन्छन्।
तर महिला बिग ब्यास लिग (डब्ल्युबीबीएल) मा बुधबार अनौठो घटना भयो।
एक जना ब्याटर एउटा बलको पनि सामना गर्न नपाई बोल्ड भइन्।
मेलबर्न रेनेगेड्सकी डिएन्ड्रा डोटिन ब्रिस्बेन हिट विरुद्धको खेलमा एक बल पनि सामना गर्न नपाउँदै बोल्ड भएकी हुन्।
बुधबार मेलबर्नस्थित जंक्सन ओभरमा भएको खेलमा उनी ब्याटिङ गर्न मैदानमा भने पुगेकी थिइन्। तर आफू क्रिजमा बसेर एउटा पनि बलको सामना गर्न नपाई बोल्ड भइन्।
उनले क्रिजमा पुग्न ढिला गरिन्।
त्यसपछि ब्रिस्बेनकी बलर सारा ग्लेनले डोटिनलाई क्रिजमा नपर्खी सिधै स्टम्पमा बल हानिन्। स्टम्प ढल्यो। डोटिनको खातामा एक बल पनि जोडिएन, विकेट भने गयो।
यो कुनै सामान्य बोल्ड थिएन। डोटिन डब्ल्युबिबिएलको परिमार्जित ‘टाइम्ड आउट’ नियमका कारण यस्तो अवस्थामा पुगेकी थिइन्।
खेलमा मेलबर्न रेनेगेड्सले १३८ रनको लक्ष्य पछ्याइरहेको थियो।
उसले १५ ओभरमा टोलीले चार विकेट गुमाएर ९७ रन बनाएको थियो। चौथो विकेट झरेपछि डोटिन ब्याटिङ गर्न आइन्। तर, उनी ७५ सेकेन्डभित्र बल सामना गर्न तयार हुन सकिनन्।
डब्ल्युबीबीएलले सन् २०२१–२२ को सिजनदेखि लागू गरेको नियमअनुसार विकेट गुमेपछि आउने ब्याटर ७५ सेकेन्डभित्र बल खेल्न तयार हुनुपर्छ।
त्यसो गर्न नसके उसले आफ्नो इनिङ्सको पहिलो बल सामना गर्न पाउँदैन। बरू क्रिजबाट कम्तीमा पाँच मिटर टाढा उभिनुपर्छ र बलरलाई बल फ्याँक्न दिनुपर्छ।
डोटिन पनि लेग साइडतर्फ क्रिजबाट टाढा उभिइन्। यही मौका छोपेर ग्लेनले स्टम्पमा बल प्रहार गरिन्। नियमअनुसार उक्त बल ओभरको पहिलो बलका रूपमा गणना भयो र डोटिन शून्य रनमै बोल्ड घोषित भइन्।
क्रिकेटमा ब्याटर क्रिजमा नहुँदा बलरले स्टम्पमा बल हानेर आउट गराउने घटना विरलै देखिन्छ। तर डब्ल्युबिबिएलको यो नियमले खेलाडीलाई समयमै मैदानमा तयार हुन बाध्य बनाउँछ। डोटिनको घटनाले नियम कागजमा मात्रै होइन, मैदानमै कसरी लागू हुन सक्छ भन्ने देखायो।
यति अनौठो विकेट गुमाए पनि रेनेगेड्सले खेल भने जित्यो। टोलीले अन्तिम बलमा लक्ष्य पूरा गर्यो।
खेलपछि रेनेगेड्सकी कप्तान तथा ‘प्लेयर अफ द म्याच’ सोफी मोलिन्युले यस्तो घटना आफूले क्रिकेटमा कहिल्यै नदेखेको बताइन्।
‘क्रिकेटमा मैले यस्तो घटना कहिल्यै देखेकी थिइनँ। ग्लेनले त्यसलाई कार्यान्वयन गरेकोमा उनलाई श्रेय दिनुपर्छ,’ उनले भनिन्, ‘फेरि मौका पाए हामीले डोटिनलाई तयार भएर मैदानमा पठाउने निर्णय अलि ढिला गर्यौं जस्तो लाग्छ। यो हाम्रा लागि मात्रै होइन, खेल हेरिरहेका अरू टोलीका लागि पनि राम्रो पाठ भयो।’