अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि मधेशी आयोगले छानविन प्रक्रिया अघि बढाएको छ।
दुई साताअघि अध्यक्ष शेर्पाले एक मिडियामा फेसबुक लाइभमार्फत दिएको अन्तर्वार्तामा 'तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम' भएको बताएका थिए।
अध्यक्ष शेर्पाले दिएको अभिव्यक्तिको भिडियो एक व्यक्तिले पठाएपछि छानविन गरिरहेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सेतोपाटीलाई जानकारी दिए।
यद्यपी आयोगमा लिखित उजुरी भने परेको छैन। लिखित उजुरी नपरेको अवस्थामा पनि मधेशको विषयमा सूचना संकलन गरी छानविन गर्ने अधिकार आयोगलाई भएको अध्यक्ष दत्तले बताए।
'कसैले सूचना दिएको अवस्थामा पनि मधेशको विषयमा छानविन गर्ने अधिकार हामीलाई छ,' उनले भने।
मधेशी आयोग ऐन, २०७४ को परिच्छेद–३ आयोगको काम, कर्तव्य र अधिकार शीर्षकमा छानविन गर्न सक्ने उल्लेख छ।
परिच्छद ३ को (ढ) नम्बर बुँदामा भनिएको छ,'मधेशी समुदायको अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी सो उपर छानविन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने।'
शेर्पाको अभिव्यक्तिको विषयमा अध्यक्ष दत्तको सचिवालयले सम्बन्धित पक्षलाई पत्राचार गरिसकेको छ।
शेर्पाको भनाइ मधेशी समुदायविरुद्ध भएको ठहर भए आयोगले सम्बन्धित निकायमा कारबाहीको सिफारिस गर्न सक्नेछ।
अध्यक्ष शेर्पाले गत जेठ ४ गते फेसबुक लाइभमार्फत तराईका चार जिल्ला (सप्तरी, सिराह, धनुषा र महोत्तरी)मा राष्ट्रियता सिकाउन ग्रासरुट फुटबल सुरू गरेको बताएका थिए।
शेर्पाको अभिव्यक्तिको विषयमा संसदमा समेत कुरा उठेको थियो। शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले कारबाहीको माग गरेका थिए।
गत सोमबार भएको एन्फा कार्यसमिति बैठकमा अभिव्यक्तिलाई लिएर शेर्पाको राजीनामा माग भएको थियो। यस्तै एन्फाका चार जिल्ला फुटबल संघका अध्यक्षले कारबाहीको माग गरेर प्रधानमन्त्रीलाई निवेदन दिएका थिए।
सम्बन्धित समाचारहरू:-
विवादमा परेका एन्फा अध्यक्ष शेर्पाको कार्यसमिति बैठकमै राजीनामा माग
एन्फा अध्यक्ष शेर्पामाथि कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई निवेदन
एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा