डिफेन्डर रोहित चन्दले नेपाली राष्ट्रिय फुटबल टोलीबाट १०० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गरेका छन्।
मंगलबार भियतनामसँग खेल्दै रोहितले १०० अन्तर्राष्ट्रिय खेल पूरा गरेका हुन्। यसअघि नेपाली टोलीबाट कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले १०० अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए।
सन् २००९ मा १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका रोहिले भारत, इन्डोनेसिया र मलेसियाका शीर्ष डिभिजनको क्लबबाट खेलेका छन्।
मंगलबार १०० अन्तर्राष्ट्रियय खेल पूरा गरेसँगै रोहितले खुसी व्यक्त गरेका छन्।
‘देशको लागि खेलेर १०० क्याप्स खेल्नु पाउनु एकदम ठूलो कुरो हो। खुसी लागेको छ। मैले १०० क्यापसम्म खेल्छु भनेर कहिल्यै सोचेको थिएन। तर आज यो ठाउँमा छु। देशको लागि जे जस्तो भए पनि जसरी भए पनि योगदान दिन पाएको छु। त्यसमा एकदम खुसी छु,’ रोहितले भने।
तर उनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा भने खेल्न पाएनन्। भियतनामविरूद्धको एसियन कप छनोटको यो खेल नेपालमै हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि विपक्षी टोलीको मैदानमा खेल्न बाध्य भएको हो। खेलमा नेपाल १-० गोलले पराजित हुँदा अन्तिम दुई खेलअघि नै नेपाल बाहिरिएको छ।
यो विषयमा उनले भने, ‘जहिले पनि हाम्रो होममा म्याच भएपछि फाइदा हुन्छ। हामीले एउटा फाइदा चाहिँ गुमाएको थियौ। घरेलु मैदानमा नै १०० क्याप्स पुगेको भए अझै राम्रो हुन्थ्यो। तर पनि अहिलेको अस्थामा खेल्न नमिल्ने भएपछि बाहिर आएर खेल्नु पर्ने बाध्यता भयो। अब यसलाई नै अब होम म्याच सम्झनपर्यो।’
उनले आफ्नो १६ वर्षको अन्तर्राष्ट्रिय करिअरमा साथ दिने सबैलाई धन्यवाद समेत दिए।
‘मेरो करियरमा सँगै काम गर्ने प्रशिक्षक र सपोर्ट स्टाफ हुनुहुन्छ सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु। उहाँहरूबाट मैले धेरै कुरा सिकेको छु। साथै शुभचिन्तकलाई पनि धेरै धेरै धन्यवाद र अझै पनि एकदम सपोर्ट गर्नुहोला। नेपाली फुटबललाई एकदम माया गर्नुहोला,’ उनको भनाइ छ।