विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली १८०औं स्थानमा पुगेको छ।
नेपाल अक्टोबर २०२५ को वरीयतामा चार स्थान खस्किएर १८०औं स्थानमा पुगेको हो। यो महिना नेपालले एसियन कप छनोटमा भियतनामसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा ३-१ र दोस्रो खेलमा १-० गोलले पराजित भएपछि नेपालको वरीयता खस्किएको हो।
यो वरीयता नेपालको ९ वर्ष यताकै खराब हो। सन् २०१६ को डिसेम्बरमा नेपाल १८१औं स्थानमा थियो। त्यसयता नेपाल यो अवस्थामा कहिल्यै पुगेको थिएन।
नेपालको सबैभन्दा खराब वरीयता पनि सन् २०१६ मै थियो। त्यतिबेलाको जनावरीमा नेपाल १९६औं स्थानमा पुगेको थियो।
साफ क्षेत्रको वरीयतामा भारत पहिलो स्थानमा छ। भारत फिफा वरीयतामा १३६औं स्थानमा छ। दोस्रो स्थानको माल्दिभ्स १७३औं स्थानमा छ। नेपाल चार स्थान खस्किए पनि तेस्रो स्थानमा कायम छ।
साफको चौथो स्थानको बंगलादेश एक स्थान माथि उक्लिदै १८३औं, पाँचौ स्थानको भुटान ३ स्थान तल झर्दै १८९, छैटौं स्थानको श्रीलंका चार स्थान माथि उक्लदै १९३औं स्थानमा र सातौ स्थानको एक स्थान उक्लिदै १९८औं स्थानमा छन्।
फिफा वरीयताको शीर्ष स्थानमा स्पेन, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रो स्थानमा फ्रान्स, चौथो स्थानमा इंग्ल्यान्ड र पाँचौं स्थानमा पोर्चुगल छन्।