बुटवलस्थित दीप नगरको सिद्धेश्वरी खेल मैदान यति बेला फुटबल खेल प्रेमीको उत्साहले भरिएको छ।
स्थानीय सौभाग्य युवा क्लबको आयोजनामा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्ड कपले फुटबलको रौनक मात्र ल्याएको छैन, नेपाली खेलकुदमा एउटा नयाँ र प्रेरणादायी इतिहास पनि लेखिरहेको छ।
जहाँ पुरूष खेलाडीहरू बलसँगै तीव्र गतिमा दौडिरहेका छन्, त्यही उनीहरूभन्दा अझ बढी सक्रिय र सचेत देखिएका छन् चार जना महिला रेफ्रीहरू।
मैदानमा पुरूष खेलाडीहरू बलका लागि लुछाचुँडी गरिरहँदा, उनीहरूसँगै दौडिरहेका महिला रेफ्रीहरूका कारण खेल अझ लोभलाग्दो र आकर्षक बनेको छ।
फुटबललाई शक्तिको खेल मानिन्छ। पुरूष फुटबलमा हुने शारीरिक टक्कर, गति र दबाबलाई झेल्दै निर्णय लिनु चानचुने कुरा होइन। तर, रूपन्देहीको तिलोत्तमाकी कृति सेन ठकुरीको नेतृत्वमा रहेको चार सदस्यीय महिला रेफ्री टोलीले बुटवलको मैदानमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरिदिएको छ।

कृति सेन ठकुरी नेतृत्वमा रहेको महिला रे फ्रीको टोलीमा सुनसरीको इटहरीकी सोमिका राई, मोरङकी जमूना आले मगर र ललितपुरकी माया लामा रहेका छन्। मैदानको चारैतिरबाट हजारौँ दर्शकले नियालिरहेको खेलमा उनीहरूले देखाएको आत्मविश्वास र व्यावसायिकताले जो कोहीलाई आकर्षित गरेको छ।
पुरूष खेलाडीहरूसँगै ९० मिनेटसम्म मैदानको कुना कुना पुग्नु, अफसाइड ठम्याउनु र फउलको सटिक निर्णय लिनु शारीरिक रूपमा निकै चुनौतीपूर्ण हुन्छ। तर, यी महिला रेफ्रीहरूमा थकानको कुनै सङ्केत देखिँदैन। उनीहरू खेलाडीको गतिसँगै कदम मिलाएर दौडिरहेका छन्। महिला रेफ्रीहरूले लेखिरहेको कथा भोलिका दिनमा धेरैका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।
‘मैदानमा उत्रिदा हामी कसैको शारीरिक बनावट हेरेर होइन, निष्पक्ष निर्णायकको भूमिकामा हुन्छौँ,’ खेलको कमान्ड सम्हालिरहेकी कृतिले भनिन्।
‘मैदानमा दौडिरहँदा हामी महिला वा पुरूष भन्दा पनि एक निर्णायक हौँ भन्ने सोच्छौँ, खेलाडीहरूको गतिसँगै कुद्नु र सही समयमा सही निर्णय लिनु नै हाम्रो सफलता हो,’ कृतिले अगाडि भनिन्।
घना बस्तीको बीचमा भएको यो प्रतियोगिताको अर्को सुन्दर पक्ष भनेको दर्शकहरूको बाक्लो उपस्थिति र उनीहरूको सकारात्मक व्यवहार हो।
बुटवलका खेल प्रेमी दर्शकहरूले केवल गोलमा मात्र होइन, रेफ्रीले लिएका साहसिक निर्णयहरूमा पनि ताली बजाएर हौसला प्रदान गरिरहेका छन्।
मैदानको प्यारा पिटबाट सुनिने हुटिङले खेलाडीलाई जति ऊर्जा दिएको छ, रेफ्रीहरूलाई पनि उत्तिकै आत्मविश्वास बढाएको छ। दर्शकको यो उल्लेख्य सहभागिता र रेफ्रीप्रतिको सम्मानले बुटवललाई खेलकुदको हब मात्र होइन, चेतनाको केन्द्रको रूपमा पनि स्थापित गरेको छ।
सौभाग्य युवा क्लबले पुरूष प्रतियोगितामा महिला रेफ्रीहरूलाई अवसर दिएर एउटा उदाहरणीय कदम चालेको र महिलाहरूमा आत्मविश्वास बढाउने काम गरेको खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीको भनाइ छ।
यसले खेल प्रेमीहरूलाई पनि उत्साहित बनाएको र अन्य महिलाहरूलाई पनि रेफ्री बन्न समेत आकर्षित गर्ने अधिकारीले बताए।

लामो समयदेखि खेलकुदमा पुरूषहरूको एकाधिकार देखिने निर्णायक भूमिकालाई महिला रेफ्री हरूले हिम्मतका साथ तोडेको नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय रेफ्री विष्णु पौडेलले बताए।
‘यी चारै जना महिलाहरू उदीयमान र सम्भावना भएका रेफ्री हुन्, हामीले छिट्टै नै कृति सेनलाई फिफा रेफ्रीको रूपमा देख्न पाउने छौँ। अरू पनि क्रमशः मुख्य रेफ्रीको भूमिकामा देख्न सक्ने छौँ,’ उनले आशा व्यक्त गरे।
‘पुरूष फुटबलको गति र शारीरिक प्रतिस्पर्धा निकै तीव्र हुन्छ। त्यही गतिमा ९० मिनेटसम्म मैदानको एक कुनाबाट अर्को कुनासम्म दौडिनु र सटिक निर्णय लिनु आफैमा चुनौतीपूर्ण कार्य हो तर, यी चार महिला रेफ्रीहरूले आफ्नो आत्मविश्वासका साथ उक्त चुनौतीलाई सहजै पार गरिरहेका छन्,’ पौडेलले भने।
पौडेलले महिला रेफ्रीले खेलाएका खेलहरूमा खेलाडीहरू निकै अनुशासित देखिने र मैदानमा हुन सक्ने विवादहरू पनि कम हुने गरेको बताए।
‘कहिलेकाहीँ सामान्य विषयमा पनि रेफ्रीसँग विवाद हुन्छ तर, महिला रेफ्रीसँग विवाद गर्न खेलाडीहरू नै गर्न आँट गर्दैनन्,’ पौडेलले भने।
सौभाग्य युवा क्लबले महिला रेफ्रीहरूलाई प्राथमिकता दिएर महिला सशक्तीकरणका लागि एउटा सकारात्मक सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष सुजु मल्लले बताए।
यसले खेल क्षेत्रमा लाग्न चाहने अन्य युवतीहरूका लागि पनि प्रेरणा प्रदान गरेको छ।
‘हामीले यो खेलपछि अरू महिलाहरू पनि रेफ्रीको भूमिकाका लागि आकर्षित गर्न सकियोस् भन्ने सन्देश दिन खोजेका हौँ,’ उनले भने।

पुरूष खेलाडीहरूको पसिनासँगै मैदानमा मिसिएको यी महिला रेफ्रीहरूको पसिनाले नेपाली फुटबलमा ऊर्जा दिइरहेको उनले बताए।
‘खेलकुदमा लिंगभेद अन्त्यका लागि सकारात्मक सन्देश दिन खोजेका पनि हौँ, नेपाली छोरीहरूले चाहेमा जुनसुकै क्षेत्रमा पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण पेस गरेका छौँ,’ मल्लले भने।
मुख्य रेफ्री कृति सेनका अनुसार यो टोलीले एन्फाले आयोजना गरेका महिला लिग फुटबलका थुप्रै खेलहरू खेलाई सकेको भए पनि यसरी पुरूषहरूको प्रतिस्पर्धामा मुख्य भूमिका भने पाएको थिएन।
‘बुटवलले हामीलाई थप ऊर्जा दिएको छ,’ कृतिले खुसी व्यक्त गरिन्।
मैदानमा सहायक रेफ्रीको भूमिकामा रहेकी इटहरीकी सोमिका राई पनि पुरूष खेलाडीहरू सहभागी गोल्ड कपमा चारै जना महिला रेफ्रीलाई विश्वास गरेकोमा खुसी व्यक्त गरिन्।
रेफ्रीको भूमिकामा यसअघि साफ फुटबलको लागि भुटान र सिक्किम पुगेर खेल खेलाए पनि नेपालमा चारै जना महिला रेफ्रीले गोल्ड कप खेलाउने अवसर भने पहिलो पटक पाएको बताइन्।
प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा रूपन्देही सहित चितवन, नवलपरासी, कपिलवस्तुका गरी १२ क्लबहरूले भाग लिनेछन्। गत वर्ष झरना रिपोर्टिङ क्लब विजेता रहेको थियो।
बुटवल ७ दिपनगरस्थित सिद्धेश्वरी खेल मैदानमा भइरहेको प्रतियोगितामा कपिलवस्तु, नवलपरासी, चितवन र रूपन्देहीका १२ टिमको सहभागिता रहेको छ। चैत ३० गतेसम्म चल्ने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष मल्लले बताए।

