ब्राजिलका स्टार फरवार्ड नेइमारले यस वर्षको विश्वकप फुटबल खेल्ने भएका छन्।
चोटका कारण लामो समयदेखि राष्ट्रिय टोली बाहिर रहेका नेइमार यसपालिको विश्वकप खेल्ने ब्राजिलको टोलीमा समावेश भएका हुन्।
रियो दि जेनेरियोमा आयोजित विशेष कार्यक्रममा प्रशिक्षक आन्चेलोट्टीले मंगलबार टोली घोषणा गरेका थिए।
नेइमारको नाम सार्वजनिक हुँदा समर्थकहरूले उत्साहका साथ स्वागत गरेका थिए। आफ्नी प्रेमिकासँगै रहेका नेइमार पनि नाम सुनेपछि उत्साहित भएका थिए।
पछि नेइमार आफ्नी प्रेमिकासँगै रोएका पनि थिए।
उनले सन् २०२३ यता ब्राजिलका लागि खेलेका थिएनन्। ब्राजिलकै क्लब सान्तोषबाट खेलिरहेका छन्। उनको फिटनेसमा सुधार आएपछि प्रशिक्षक आन्चेलोट्टीले उनलाई टोलीमा फर्काएका हुन्।
'हामीले पूरै वर्ष नेइमारको प्रदर्शन विश्लेषण गर्यौं। पछिल्लो समय उनले निरन्तर खेलिरहेका छन् र शारीरिक रूपमा राम्रो अवस्थामा छन्,' गत वर्ष ब्राजिलको प्रशिक्षक नियुक्त भएका ६६ वर्षीय आन्चेलोट्टीले नेइमारलाई टोलीमा समावेश गर्नुको कारण स्पष्ट पार्दै भने।
नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले १२८ खेलमा ७९ गोल गरेका छन्। टोलीमा परेसँगै उनले चौथोपटक विश्वकप खेल्ने निश्चित भएको छ।
यसअघि उनले सन् २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए।
ब्राजिल टोलीमा गोलकिपर एलिसन बेकर पनि परेका छन्। चोटका कारण उनले लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए। यस्तै क्यासेमिरो, ब्रुनो गमेयर्स, भिनिसियस जुनियर, राफिन्हा र १९ वर्षका स्ट्राइकर इन्ड्रिक पनि टोलीमा समावेश छन्।
तर यस सिजन उत्कृष्ट प्रदर्शन गरेका जाओ पेड्रो भने टोलीमा अटाएनन्।
ब्राजिलको विश्वकप टिम–
गोलकिपरः एलिसन, एन्डरसन, वेभरटन
डिफेन्डरः एलेक्स सान्ड्रो, लियो परेरा, ड्यानिलो, ब्रेमर, इबानेज, वाजली फ्रेंका, मार्किनोस, गेब्रियल म्यागाल्हेस, डगलस सान्तोस।
मिडफिल्डरः ब्रुनो गिमरेज, क्यासेमिरो, ड्यानिलो, फ्याबिनो, लुकस पक्वेटा।
फरवार्डः एन्ड्रिक, ग्याब्रियल मार्टिनेली, इगोर थियागो, म्याथुज कुना, राफिन्हा, भिनिसियस, लुइज हेनरिक, नेइमार र रायन भिटर।