म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा अजरबैजानको च्याम्पियन सबाह एफकेलाई ४-० ले पराजित गर्दै सन् २०२० यताकै ठूलो युइएफए च्याम्पियन्स लिग जित दर्ता गरेको छ।
युनाइटेडका लागि खेलको पहिलो हाफमै म्याथियस कुन्हा, ब्रुनो फर्नान्डेस र बेन्जामिन सेस्कोले गोल गर्दै टोलीलाई सहज स्थितिमा पुर्याएका थिए।
युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकका लागि आगामी म्यानचेस्टर डर्बी अघि पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्नु सुखद पक्ष रह्यो।
चार चरणको छनोट पार गरेर पहिलो पटक मुख्य लिग चरणमा पुगेको सबाह एफकेले केही मौका सिर्जना गरे पनि प्रिमियर लिगको उच्च स्तरसामु टिक्न सकेन।
अर्कोतर्फ बायर्न म्युनिखले नर्वेली टोली बोडो/ग्लिम्टलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ।
बायर्नका लागि माइकल ओलिसले दुई गोल गरे भने ह्यारी केन, जमाल मुसियाला र अल्फोन्सो डेभिसले एक-एक गोल थपे।
मुसियालाले दोस्रो हाफको सुरुवातमै गरेको गोल युरोपेली क्लब प्रतियोगिताहरूमा बायर्नको ९०० औं गोल बन्यो। युरोपमा ९०० वा सोभन्दा बढी गोल गर्ने कीर्तिमानमा बायर्नभन्दा अगाडि रियल मड्रिड मात्र रहेको छ।
साथै ह्यारी केनले आफ्नो ७१ औं च्याम्पियन्स लिग खेलमा ५५ औं गोल पूरा गर्दै अर्लिङ हालान्ड (४९ खेल) र रुड भ्यान निस्टेलरोय (७० खेल) पछि ५५ गोल पूरा गर्ने तेस्रो तीव्र खेलाडीको कीर्तिमान बनाएका छन्।
खेलको अन्त्यतिर बोडो/ग्लिम्टका ओडिन ब्योर्टुफ्टले ओलिसलाई फल गरेपछि रातो कार्ड खाएर मैदान छाड्नुपरेको थियो।
यस चरणका अन्य खेलमा कोमोले आरबी लाइपजिगलाई ४-१ को फराकिलो अन्तरले हराएको छ भने लेन्सले स्लाभिया प्रागमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। फेनरबाहचे र रोमा तथा पिएसभी र शाख्तार डोनेत्स्कबीचका खेलहरू भने १-१ को बराबरीमा सकिएका छन्।