नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको हारको शृंखला लम्बिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखराले लगातार चौथो हार बेहोरेको छ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। लगातार चौथो हारसँगै पोखरा अंकतालिकामा अंकविहीन रहँदै पुछारमा छ। चितवनले भने दोस्रो जित निकाल्दै ५ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। युवराज साम्राले १४ बलमा १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्ती मगरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चितवनका बलरमध्ये रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कमल ऐरीले २ ओभरमा ७ रन दिएर ३ विकेट लिए। डान मौस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट हात पारे।
सुरुवातमै पोखरालाई झट्का
१५२ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमायो। भुर्तेल ३ बलमा ४ रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भए।
त्यसपछि युवराज साम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। साम्रा १९ रनमा आउट भएपछि पोखराले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। सदीरा समाराविक्रमा ४ रनमा आउट हुँदा पोखरा ८.२ ओभरमा ६२/३ को अवस्थामा पुगेको थियो।
कुमाल एक्लै लडे, साझेदारी नजुट्दा पोखरा पराजित
पोखराका लागि अर्जुन कुमालले एकातिरबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अर्को छेउबाट पर्याप्त साथ मिलेन। उनले किरण ठगुन्नासँग पाँचौं विकेटका लागि २५ रनको साझेदारी गरे। तर ठगुन्ना १३ रनमा आउट भएपछि पोखराको जितको सम्भावना कमजोर बन्दै गयो।
कुमाल ४५ रन बनाएर १७.२ ओभरमा आउट भए। त्यसपछि पोखराले लगातार विकेट गुमायो। ११७ रनमा सात विकेट गुमाएको पोखराले त्यसपछि थप ४ रन जोड्दा तीन विकेट गुमायो। रिजन ढकालले अन्तिम ओभरहरुमा लगातार विकेट झार्दै पोखराको इनिङ्स समाप्त पारे।
रिजन र कमलको घातक बलिङ
चितवनको जितमा रिजन ढकाल र कमलसिंह ऐरी निर्णायक बने। रिजनले ४ विकेट लिँदा कमलले ३ विकेट लिए। कमलले पोखराका सुरुवाती ब्याटर कुशल भुर्तेललाई आउट गर्दै दबाब सिर्जना गरेका थिए। त्यसपछि उनले सुदीप अर्याललाई पनि पभेलियन पठाए।
चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो। कप्तान सिकन्दर रजाले १६ बलमा ३७ रन तथा रवि बोपाराले २८ बलमा ३५ रन बनाएका थिए। अर्जुन साउदले ३१ र डेविड मलानले २८ रन जोडेका थिए।
पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिएका थिए।