नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्ससँग पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्सन झाले टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीसँग ४ विकेटले पराजित भएपछि प्रतिक्रिया दिँदै गुल्सनले पिच केही सुस्त भएकाले आफूहरूले १३० रनको लक्ष्य राखेको बताएका हुन्।
‘हामीले करिब १३० रन बनाउने योजना बनाएका थियौँ। विकेट अलि स्लो थियो। तर, हामीले सोचेअनुसार रन बनाउन सकेनौँ,’ उनले भने।
कर्णालीले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो। जवाफमा लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
गुल्सनले खेलमा केही गल्ती भएको स्वीकार गर्दै टी-२० क्रिकेटमा यस्तो हुनु सामान्य रहेको बताए। उनले हारबाट निराश हुनुभन्दा कमजोरी सुधार गरेर आगामी खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिए।
आफ्नो व्यक्तिगत भूमिकाबारे बोल्दै गुल्सनले आफू राष्ट्रिय टोली र फ्रेन्चाइज टोली दुवैमा टोलीको आवश्यकताअनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहने बताए।
‘टोलीले मलाई जुन भूमिका दिन्छ, त्यसका लागि म शतप्रतिशत तयार छु। ब्याटिङ गर्नुपरे पनि, माथिल्लो क्रममा खेल्नुपरे पनि, इनिङ्स फिनिस गर्नुपरे पनि वा बलिङ गर्नुपरे पनि म तयार छु,’ उनले भने।
उनले आफ्नो भूमिका ब्याटिङ वा बलिङमध्ये कुनै एकमा सीमित नरहेको स्पष्ट पारे। टोलीलाई जुन समयमा जे आवश्यक पर्छ, त्यहीअनुसार योगदान दिनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।
लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। अब टोलीले बाँकी खेल जितेर मात्र पुग्ने अवस्था छैन। प्लेअफमा पुग्न विराटनगर किंग्स र चितवन राइनोजको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ।
यद्यपि गुल्सनले टोलीको ध्यान आगामी खेल जित्नेमै केन्द्रित रहेको बताए। उनका अनुसार कर्णालीको योजना सरल छ– बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै जित निकाल्ने र प्लेअफ पुग्ने सम्भावना कायम राख्ने।