मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता पदक जित्न सफल नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ।
काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो।
एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले खेलाडी तथा अफिसियललाई सम्मान गरे।
सम्मानित हुने खेलाडीमा स्वर्ण विजेता खेलाडीहरु केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा, रजत विजेता सन्दीप बस्नेत छन्।
यस्तै टोलीको प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरियो।
नेपाली खेलाडी तथा अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले बताए।
मलेसियामा भएको उक्त प्रतियोगितामा अशोक पनि निर्णायकको रूपमा सहभागी थिए। उनी सो प्रतियोगिताको उत्कृष्ट निर्णायक घोषित भएका थिए।