भारतको झारखण्डमा अक्टोबर २४ देखि २६ सम्म आयोजित चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिप २०२५ मा नेपालले तेस्रो स्थान हासिल गरेको छ। नेपालले कुल २ रजत र ४ कास्य पदक जितेको हो।
प्रतियोगितामा नेपालका धावकहरूले लामो दूरीका इभेन्टमा पदक जिते।
८०० मिटर दौडमा सोमबहादुर कुमालले १ मिनेट ५२.०३ सेकेन्डको समयसहित रजत जिते।
त्यस्तै १०,००० मिटर दौडमा राजन रोकायाले ३० मिनेट ३९.१५ सेकेन्डको समयका साथ रजत पदक आफ्नो नाममा पारे।
कास्य पदकतर्फ सन्तोषी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो सफलता हात पारिन्। उनले ५,००० मिटर दौडमा १६ मिनेट ३६.६१ सेकेन्ड र १०,००० मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डको समयसहित दुबै इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गर्दै कास्य पदक जितेकी हुन्।
यसैगरी पुरुषतर्फ ५,००० मिटर दौडमा मुकेश बहादुर पालले १४ मिनेट २५.५४ सेकेन्डको समयका साथ कास्य पदक प्राप्त गरे।
मिक्स रिलेतर्फ ४ गुणा ४०० मिटर इभेन्टमा रमिता कुमारी थारु, जयरानी थारु, सोम बहादुर कुमाल र राम प्रसाद थारूको टोलीले ३ मिनेट ३७.१६ सेकेन्डको समयसहित कास्य पदक जित्यो।