युवा तथा खेलकुद मन्त्रालयले आफूअन्तर्गतका ६ वटा निकायलाई सबै प्रकारका बैठकको प्रत्यक्ष प्रशारण गर्नका लगि पत्राचार गरेको छ।
मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत सन्तोष पोख्रेलले सबै बैठकको प्रत्यक्ष प्रशासण गर्न पत्राचार गरेका हुन्।
यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री नियुक्ति भएपछि मन्त्रालय र अन्तर्गका निकायका प्रशासनिक कार्य पारदर्शिता कायम गर्न भन्दै बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका थिए।
सो निर्णयपछि मन्त्रालयले आफूअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजार कोष, नेपाल स्काउट, राष्ट्रिय एण्टिडोपिङ एजेन्सी र फाप्ला अन्तर्राष्ट्रिय किकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिलाई पत्राचार गरेर बैठकको प्रत्यक्ष प्रसारण गर्न भनेको हो।
‘यस मन्त्रालय र अन्तर्गतका निकायहरूका प्रशासनिक कार्यहरुमा पारदर्शिता कायम गर्नका लागि हाल विद्यमान बजेट श्रोतबाटै व्यवस्थापन गर्ने गरी तहाँ निकायका सबै प्रकारका बैठकहरुको प्रत्यक्ष प्रशारण गर्ने भनी मिति २०८२/७/९ मा निर्णय (मा. मन्त्रीस्तर) भएको हुँदा सो निर्णयानुसार गर्नु/गराउनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।
यो निर्णयसँगै ६ निकायका बैठक प्रत्यक्ष प्रसारण हुने पक्का भए पनि ती निकायअन्तर्गतका अरु संघ/संस्थाको पनि बैठकको प्रत्यक्ष प्रसारण गर्ने हो वा होइन भन्नेबारे अन्योल छ।
कतिपय खेल संघका बैठक पनि प्रत्यक्ष प्रसारण गर्नु पर्ने माग भरहेको छ। तर खेल संघहरूलाई पनि प्रत्यक्ष प्रसारण गर भन्नका लागि थप अर्को निर्णय गर्नु पर्ने खेलकुद परिषदको एक सदस्यले बताए।
‘मन्त्रीज्यूले गरेको निर्णयको पूरा पाठ त हेर्न पाएको छैन। हामीले त प्रत्यक्ष प्रसारण गरिहाल्छौं। तर संघहरूलाई पनि प्रत्यक्ष प्रसारण गर भन्नका लागि अर्को निर्णय गर्न पर्छ जस्तो लाग्छ। मन्त्रीज्यू नै परिषदको अध्यक्ष भएपछि उहाँले बोर्ड बैठकमा यस विषयमा निर्णय गर्न पहल गर्नु होला,’ उनले भने।